तीजको लागि प्रहरीले के के माग्यो श्रोत साधन ?

तीजको लागि प्रहरीले के के माग्यो श्रोत साधन ?

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा व्यवस्था मिलाएको छ । तीजमा कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उध्देश्यका साथ प्रहरीले विशेष सुरक्षा प्रबन्ध मिलाएको हो ।

कार्यालयले यसका लागि थप प्रहरी जनशक्ति तथा स्रोतसाधन उपलब्ध गराउन सम्बन्धित सबै शाखालाई निर्देशन दिएको छ । अपुग थप प्रहरी जनशक्ति तथा स्रोत साधन समयमै उपलब्ध गराउनका लागि कार्य निर्देेशनालयले विभिन्न शाखालाई जिम्मेवारी सुम्पिएको छ ।

आउँदो भदौ १४ गते राजधानीको पशुपतिनाथ मन्दिरमा श्रध्दालु ब्रतालु महिलाहरुको भीड लाग्ने उल्लेख गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले भदौ १० गते अपुग प्रहरी तथा स्रोत साधनको व्यवस्था गरिदिन पत्राचार गरेको हो ।उक्त दिन बिहान २ बजेदेखि मेला समाप्त नभएसम्मका लागि आवश्यक व्यवस्था मिलाइदिन कार्यालयले पत्रमार्फत अनुरोध गरेको थियो । सोहीअनुसार सञ्चार निर्देशनालयलाई भोलि बिहान १० बजेदेखि मेला समाप्त नहुञ्जेलसम्मका लागि प्राविधिकसहितको वाक थ्रु गेट–४, ह्याण्ड हेल्ड सेट–४, आवश्यकताअनुसारको ब्याट्री र मेटल डिटेक्टर–४ मेला शिविरमा उपलब्ध गराउन भनिएको छ ।

त्यस्तै, एक चालकसहितको वाटर क्यानन,एक दमकल र तीन मोबाइल भ्यान खटाउन र सञ्चार निर्देशनालयले उपलब्ध गराउने उपकरण तथा सामग्रीहरु लैजान र ल्याउनका लागि आवश्यक पर्ने सवारी साधनको प्रबन्ध मिलाउनुपर्ने जिम्मा सवारी महाशाखालाई दिइएको छ ।

नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले आवश्यक उपकरणसहित प्रहरी नायव निरीक्षकको कमाण्डमा २० जनाको विपद व्यवस्था टिम मेलामा खटाउनुपर्नेछ । परिचालन शाखालाई स्रोत साधनहरु पुगे–नपुगेको जानकारी लिई समयमा नै परिचालनको व्यवस्था मिलाउन कार्यालयले निर्देशन दिएको छ ।

मेलामा सञ्चालन हुने सवारी साधनका लागि लेखा शाखालाई इन्धनको जोहो गर्ने जिम्मेवारी सुम्पिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले मेला अवधिभर चिकित्सक, औषधीसहितको एक एम्बुलेन्स मेला शिविर गौशालामा स्ट्याण्डबाई रहने गरी खटाउनुपर्नेछ ।

टिप्पणीहरू