९ वर्षकी छोरीको साथमा आमा बेपत्ता
मोरङको केराबारी गाउँपालिका ८, शान्तिटोलकी २८ वर्षीय रिता चापागाईं फुयाल आफ्नी ९ वर्षकी छोरीसँगै गायब भएकी छन् । आफूसँग सामान्य भैmझगडा भएको निहुँमा बेपत्ता भएकी श्रीमती र छोरीको खोजतलास गरिदिन श्रीमानले प्रहरी प्रशासन गुहारेका छन् ।
केराबारीमा लाग्ने साप्ताहिक हाटबजारमा सामान किन्न गत साउन ३ गते दिउँसो ३ बजेदेखि श्रीमती रिता ९ वर्षकी छोरी लिएर बेपत्ता भएकी हुन् । श्रीमान सूर्यसाद फुँयालले खोजी गरिदिन इलाका प्रहरी बेलबारीमा गुहार मागेका छन् ।
उनले श्रीमती र छोरीको खोजी गरिदिन हुलिया र फोटोसहित निवेदन हालेका हुन् । धरान–काठमाडौं मितेरी बसका स्टाफले उक्त हुलिया भएकी महिला साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएकी बताएका छन् । तर अहिलेसम्म श्रीमान र परिवारका सदस्यको सम्पर्कमा आएकी छैनन् ।
श्रीमान फुयाँल लामो समय विदेशमा काम गरेर छ महिनाअघि स्वदेश फर्किएका हुन् । लेनदेनको विषयमा उनीहरुबीच घरमा सामान्य झैझगडा हुँदै आएको बताइएको छ ।


टिप्पणीहरू