नहुन पनि सक्छ सबैतिर एमाले-राप्रपा तालमेल
आगामीे निर्वाचनको निम्ति पाँचदलीय सत्ता गठबन्धनमा सीटको बाँडफाँडमा लफडा जारी छ । सीट बाँडफाँडको जिम्मेवारी पाएको कार्यदल भुुङ्ग्रोमा परेको माछा झैँ भएको छ । हालसम्मको बैठकमा शीर्ष नेताहरुको चुनावी क्षेत्र सुनिश्चित गर्न हम्मे परेको बताइन्छ ।
अर्कोतर्फ प्रमुख विपक्षी दल एमाले एक्लै निर्वाचनको मैदानमा उत्रनुपर्ने बाध्यात्मक अवस्थाका कारण अन्य साना दलहरुसँग नजिकिन थालेको छ । थोरै भोटको सहयोग पनि सञ्जिवनी हुनसक्ने भन्दै एमाले आफ्नै बलबुतामा उभिने प्रयासमा लागेको देखिन्छ ।
केही समयको अन्तरमा एमाले अध्यक्ष केपी शर्मा ओली तीन पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नुले पनि उहाँ अरुको भरमा विश्वास गरिहाल्ने मुडमा देखिनुहुन्न । आफ्नो जीत सुनिश्चितताको निम्ति ओलीले आफैँ मेहनत गरेको एमालेजनको बुझाइ छ । अन्य पार्टीसँगको औपचारिक सहकार्यभन्दा अरुलाई एमाले प्रवेश गराउँदै उचित मान मनितो र सम्मान दिने सोचाइमा एमाले अध्यक्ष रहेको बताइन्छ ।
पछिल्लो दिन चर्चामा आएको राप्रपासँगको तालमेललाई पनि अध्यक्ष ओलीले ठाँउ हेरी प्राथमिकतामा राखेको देखिन्छ । वचन गुलियो, व्यवहार टर्रो गर्ने उहाँको रणनीतिबारे राप्रपाभित्रै चर्चा हुन थालेको छ । ‘राप्रपासँगको सहकार्य अध्यक्षको आफू झापाबाट जित्ने भित्री इच्छाको विषय हो,राप्रपा एक्लैलाई २० सीट बुझाउन गाह्रो छ’ ओली निकट एमाले नेताले भने ।
राप्रपासँगको सहकार्यले उहाँलाई धेरै कोणबाट बिझाउने भएकाले पनि व्यवहार फरक रहेको उनै नेताले टिप्पणी गरे । ‘राप्रपासँग मनैदेखि सहकार्य गर्ने भए अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रका राप्रपा कार्यकर्तालाई ओलीले एमालेमा प्रवेश गराउने नै थिएनन्,यति सामान्य कुरा त बुझ्नु पर्छ नि राजनीति गर्नेले,’ ती नेताको विश्लेषण छ ।
लिङ्देनले सबै नेता चोर भएको अभिव्यक्ति नेपाली काँग्रेसको पछिल्लो महाधिवेशनका क्रममा भृकुटीमण्डपमा दिएकोलाई अध्यक्ष ओलीले आपत्तिजनक रुपमा लिँदै आउनुभएको एमालेजनको बुझाइ छ । अर्कोतर्फ राप्रपाले उठाएको सक्रिय राजाको मुद्दालाई पनि एमालेका कार्यकर्ताले सहजै स्वीकार्न मुश्किल छ ।
राप्रपालाई सहयोग गरेर केही सिटमा जिताउँदा भोलिका दिनमा गठबन्धन दलको कित्तामा नपुग्ने विश्वास एमालेले खोज्दै आएको स्रोतको दाबी छ । उता झापा क्षेत्र नम्बर ३ मा ओली निकट दुर्गा प्रसाईं ‘मार्सी’ ले चुनावको छुट्टै तयारी थालेका छन् । सो क्षेत्रबाट राजेन्द्र लिङदेन यसअघि विजयी भएका थिए । मार्सीका कार्यकर्ताले बाको निर्देशनमा प्रसाईंले चुनावी प्रचार थालेको बताउनुले पनि राप्रपालाई दवावमा राख्ने र दिनैपरे त्यहाँ एक सीट मात्र दिने आशंका उत्पन्न भएको हो ।
यसअघि लिङ्देनको कारण राष्ट्रिय सभामा सिट गुमेको,संसदमा आवश्यक परेको बेला अनुपस्थित भएको पक्षलाई पनि एमाले नेतृत्वले सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताइन्छ । उता दमक नगरपालिकामा गठबन्धनबाट मेयर जितेका राम थापालाई देखाउँदै राप्रपा झापाले एमालेलाई सन्देश दिने गरेको एकथरिको बुझाइ छ । तर थापाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्ने आफ्नो नैतिक बाध्यता रहेको बताउँदै आएका छन् ।
अध्यक्ष ओलीको निर्वाचन क्षेत्र नम्बर ५ बाट माओवादीका गगन पुरीले टिकट पाउने सम्भावना छ । गिरीसँग राम थापाले स्थानीय चुनावमा गठबन्धनलाई सघाउने लिखित सम्झौता गरेको गिरीले बताउँदै हिँडेपछि स्थानीय राजनीतिमा थप गाँठो पर्नसक्ने अनुमान गरिएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापासँग एमाले अध्यक्षको निकटता जगजाहेर नै छ । झापा र रुपन्देहीमा सामान्य बाहेक अन्य ठाउँमा लिङ्देन नेतृत्वको राप्रपाको उपस्थिति उल्लेख्य नहुनुले पनि तालमेलमा शिथिलता आएको बुझाइ छ । राप्रपा एक हुने र तालमेलको विषयमा कमल थापाको अग्रसरता भएमा अध्यक्ष ओली र एमालेले सोचेको भन्दा बढी स्थानमा तालमेल गर्नसक्ने एकीकृत राप्रपाको अभियानमा लागेकाहरु बताउँछन् ।
टिप्पणीहरू