जीतपुरमा मध्यराति प्रहरी र लुटेरा समूहबीच दोहोरो भिडन्त
बारामा प्रहरी र डाका समूहबीच दोहोरो झडप भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा मध्यराति एरोटेक प्रा.लिमा दोहोरो भिडन्त भएको हो ।
एरोटेक प्रालि सिलिन्टर कम्पनीमा डाकाहरुको समूहले लुटपाट गरिरहेको सूचना पाएलगतै प्रहरी घटनास्थलमा पुगेको थियो । करिब २० जनाको समूहमा आएका डाकाहरुले उद्योगभित्र लुटपाट गरिरहेका बेला झडप भएको प्रहरीले जनाएको छ ।
सो अवस्था डाकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार डाकाहरुले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपड्केको र एक राउन्ट पड्केको हो ।
दोहोरो भिडन्तमा परेर सई कलाम शाही घाइते भएका छन् । उनको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
सोही अवस्थामा लुटेरा समूहका एक जनासमेत घाइते भएका छन् । चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा जयराम पासवान र जवाहिर महतो छन् । उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, एकनाले बन्दुक र तीन थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू