हेटौँडाको बुद्धचोकमै ठूलो परिमाणको गाँजासहित बेवारिस टिपर
लागूऔषध नियन्त्रण ऐन २०३३ ले लागूऔषधको उत्पादन, बिक्री, ओसारपसार र सेवनलाई अपराध मानेर ती कार्यहरुमा संलग्नलाई कारबाहीको भागिदार ठह¥याउँछ । मकवानपुरमै उत्पादन हुने गाँजा, अफिम, चरेस मात्र होइन, भारतबाट नेपालतर्फ आयात हुने खैरो हिरोइन, फेन्सिडाइल लगायत विभिन्न नामका लागूऔषधका प्रयोगकर्ता वा कारोबारीहरु निरन्तर मकवानपुरमा पक्राउ पर्दै आइरहेको घटना नौलो होइन ।
तर, बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोक नजिकै राप्तीरोडमा साइड लगाइएको टिपरमा ठूलो परिमाणको गाँजा भेटिनु चाहिँ अलिक अनौठो घटना नै हो । ३ क्वीन्टल ५ किलोग गाँजासहित टिपर भेटिएको घटना आज बिहान ३ बजेतिरको हो । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमका अनुसार हेटौँडा ११ थानाभ¥याङमा सबारी चेकजाँच चलिरहेको थियो । तर, एकाएक चेकजाँचलाई अटेर गरेर ना ८ ख १७३८ नं को टिपर भाग्यो । प्रहरीले टिपर भागेको बिषयलाई तुरुन्त सञ्चार सेटमा रिले गर्दै थियो । बसपार्क प्रहरी चौकीका प्रहरी पनि सडकमा निस्कँदै थिए । तर, एकाएक जिल्ला प्रहरी कार्यालय हुँदै राप्तीरोडतर्फ भागेको टिपर बुद्धचोक नजिकै गएर रोकियो । रोकिएको टिपरबाट ओर्लेर चालक भागे । टिपरमा रातो त्रिपालले छोपेको अबस्थामा गाँजा फेला प¥यो । त्रिपालले छोपेको अबस्थामा १२ वटा बोरामा ३०५ किलोग्राम गाँजा फेला परेको प्रहरी उपरिक्षक गौतमले जानकारी दिनुभयो ।
‘घटनाबारे अनुसन्धान जारी राखेका छौँ, टिपर धनी पत्ता लगाउनका लागि यातायात कार्यालयमा पत्राचार गरिसकेका छौँ’, प्रहरी उपरिक्षक गौतमले भन्नुभयो । उहाँका अनुसार भारी बोकाएर ल्याएर टिपरमा गाँजा लोड गरिएको छ । मनहरी, खरंगा, जैसिङ, लेवट र नेवारपानी नाका हुँदै मकवानपुरको पहाडी इलाकाबाट गाँजा ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । अहिलेको भाउ अनुसार बरामद भएका गाँजा ५० लाख रुपियाँ बराबरको रहेको बताइएको छ ।
टिप्पणीहरू