‘दलाल’ले साउदीमा अलपत्र पारेपछि आफन्तहरु सडकमा

‘दलाल’ले साउदीमा अलपत्र पारेपछि आफन्तहरु सडकमा

रोजगारीको क्रममा साउदी अरब पुर्याएर अलपत्र पारेको भन्दै पीडितका आफन्तहरुले मेनपावर कम्पनीविरुद्ध बिरोध प्रदर्शन गरेका छन् । काठमाडौँको बसुन्धरा चोकनजिक अल अमुल म्यानपावरको गेटबाहिर पीडितहरु नारावाजीसहित प्रर्दशनमा उत्रिएका हुन् ।

वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर साउदीमा अलपत्र पारेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । झण्डै पाँच महिनाअघि होटलसम्बन्धी काम भनेर साउदी पुगेका पाँच जना हाल सम्पर्कवीहिन बनेको प्रर्दशनकारीहरुको भनाइ छ ।

शुरुमा एउटा काम भनेर पठाएपनि अर्कै काम लगाएर तलबसमेत नदिएको पीडितमध्ये एक जनाका आफन्तले बताए । कामको सिलसिलामा साउदी पुगेका उनीहरुले सम्बन्धित कम्पनीले आफूलाई अलपत्र पारेको बताएको र हाल सबैजना सम्पर्कमा आउन नसकेको उनले जानकारी दिए ।

पीडितका आफन्तहरुले अलपत्र पारिएकाहरुलाई तत्काल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेका छन् । पछिल्लो समय नेपालका केही म्यानपावरहरुले साउदीमा रहेका कम्पनीको बारेमा बुझ्दैनबुझी श्रमिक पठाउनाले उनीहरु अलपत्र पर्ने गरेका छन् ।

टिप्पणीहरू