पूर्वमुख्यमन्त्री पौडेलले आफूलाई केजरीवालसँग तुलना गरे
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशलाई अधिकार सम्पन्न नबनाई संघीयता बलियो नहुने बताएका छन् । आज हेटौँडामा आयोजित संघीयता सवलीकरणसम्बन्धी छलफलमा उनले पूर्ण अधिकार नपाएकै कारण आफ्नो कार्यकालमा परिणाममुखी काम गर्न नसकेको पनि दावी गरे ।
एमाले नेतासमेत रहेका पौडेलले संघीयता लागू हुनेबितिक्कै आफूले दिल्लीका मुख्यमन्त्री केजरिवालले जस्तो काम गर्ने चाहाना राखेको तर संघीय सरकारका कारण त्यो पूरा हुन् नसकेको पनि बताए । भने, ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’
संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले केन्द्रिकृत मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारले काम गर्न नसक्ने जिकिर पनि गरेका छन् । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको पौडेलको भनाइ छ । प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन संघीय सरकार बाधक बनेको उनको आरोप छ ।
‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन, ’ उनले भने, ’सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ ।’ संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गरिरहेकोमा पूर्वमुख्यमन्त्री पौडेलले असन्तुष्टी जनाए ।
टिप्पणीहरू