गृह मन्त्रालयको कार्यविधिप्रति नाटाको आपत्ति
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्थाको माग गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको ‘पर्यटन भीसामा विदेश प्रस्थान अनुमति सम्बन्धी कार्यविधि, २०७९’ ले नेपाली पर्यटकहरुलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु लगाएको उल्लेख गर्दै नाटाले यस्तो माग गरेको बताइन्छ ।
कार्यविधिले नेपालको पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भीर असर पार्ने र विभिन्न बहानामा नेपाली पर्यटकहरुको स्वतन्त्रतापूर्वक घुम्न पाउने नैसर्गिक अधिकारलाई समेत चुनौती दिइएको नाटाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उसले भनेको छ, ‘नेपाली पर्यटकहरुलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु राखेको र एक वा अर्को बहानामा नेपाली पर्यटकहरुको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकार समेतलाई चुनौती दिएकोप्रति पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स कडा आपत्ति प्रकट गर्दछ ।’
साथै, उसले गैरकानूनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटना नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेतर्फ आफ्नो सहमति रहेको पनि जनाएको छ ।
तर, पर्यटक र भ्रमण व्यवस्थापनको नाममा पर्यटन व्यवसायीहरुलाई निषेध र हतोत्साहित गर्ने नियतका साथ ल्याइएको कार्यविधिले नेपाली पर्यटनलाई असहज भएको नाटाको दाबी छ ।
गन्तव्य मुलुक जानुपूर्व कम्तीमा दुई वटा मुलुकको भ्रमण गरेको हुनुपर्ने, आफू बस्ने होटलको बुकिङ प्रमाण पेश गर्नुपर्नेलगायत बाध्यकारी व्यवस्था पूर्णत हटाउन माग गरिएको छ ।
टिप्पणीहरू