म्यादी प्रहरीलाई असोज ३० गते नियुक्ति, कात्तिक ९ गतेदेखि ड्युटी

म्यादी प्रहरीलाई असोज ३० गते नियुक्ति, कात्तिक ९ गतेदेखि ड्युटी

आगामी मंसिर ४ गते एउटै चरणमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरिएको छ । नेपाल प्रहरीले आउँदो भदौ ३० गतेदेखि भर्नाका लागि आवेदन खुला गर्ने तयारी गरेको हो ।

तालिकाअनुसार आगामी आइतबार भर्नाका लागि सूचना प्रकाशित गरिनेछ । भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन खुलाइने छ । त्यस्तै, आवेदन दिएकाहरुले असोज ७ गते सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

असोज ९ देखि १४ गतेभित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ । असोज २५ गते नतिजा प्रकाशन र असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिने तालिकामा उल्लेख छ । असोज ३० गते नियुक्ति पत्र दिइनेछ ।

लगत्तै कात्तिक ८ गतेसम्म म्यादी प्रहरीको तालिम सम्पन्न गराएर कात्तिक ९ गतेबाट पोशाकमा उनीहरुलाई ड््युटीमा खटाइनेछ । म्यादी प्रहरीको अवधि जम्मा ४० दिनको हुने नेपाल प्रहरीका सूचना अधिकारी टेकप्रसाद राईले बताए ।

म्यादीलाई पनि प्रहरी जवानसरह तलब, पोशाक, भत्ता र रासनको व्यवस्था गरिने उनको भनाइ छ । सूचना अधिकारी राईकाअनुसार आउँदो निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गरिनेछ । स्थानीय तहको चुनावमा म्यादी प्रहरीको जिम्मेवारी निर्वाह गरिसकेकालाई प्राथमिकतामा राख्ने तयारी छ । उनीहरुसँग अनुभव हुने भएकाले परिचालन गर्न सहज हुने नेपाल प्रहरीको बुझाइ छ ।

टिप्पणीहरू