तातोपानी नाका खोल्न सुजाता कोइरालाको माग
नेपाली काँग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गरेकी छन् । आज प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो बताएकी हुन् ।
उनले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको गुनासो गरेकी छन् । लामो समयसम्म सीमा नाकामा चाडपर्वको निम्ति आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेको उल्लेख गर्दै सांसद कोइरालाले यसको समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराइन् ।
नाका बन्द हुँदा व्यापारी पीडित भएकाले उनीहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको कोइरालाको भनाइ छ । सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ मागेकी छन् ।
चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्षले राष्ट्रिय सभाका अध्यक्षसँग गरेको कुराकानीमा पनि उक्त कुरो उल्लेख भएको उनको दाबी छ ।
टिप्पणीहरू