लागूऔषध कारोबारमा संलग्न एक दर्जनबढी पक्राउ
खैरो हेरोइन, गाँजा र एम्पुलसहित १५ जना समातिएका छन् । लागूऔषध नियन्त्रण ब्यूरोले भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिष महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना छन् ।
उनीहरुको साथबाट विभिन्न व्यक्तिले एम्पुल खरिदका लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७ थान, घडी सात र गितार चार थान बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँसमेत बरामद गरिएको छ ।
पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र गाँजा दुई किलोसहित उनीहरुलाई नियन्त्रणमा लिएको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले जानकारी दिए । उनका अनुसार यसको बजार मूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको छ ।
पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट लागूऔषध ऐनअनुसार म्याद थप भई आवश्यक कारबाही भइरहेको उनले बताए ।
टिप्पणीहरू