सेनाबाहेक अन्य सुरक्षाकर्मीलाई भोलि शीतल निवासमा खानाको निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नेपाली सेनाका अधिकृतबाहेक तीन थरी सुरक्षा निकायका उच्च अधिकृतहरुलाई खानासहितको अन्तरक्रियामा सहभागी हुन निम्तो पठाउनुभएको छ । शीतल निवासबाट सम्बन्धित ब्यक्तिहरुलाई फोन गरेर उक्त निम्तो टिपाइएको बताइएको छ ।
भोलि दिउँसो ३ बजेको लागि शीतल निवासमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका भूपू उच्च अधिकृतहरुलाई बोलाइएको स्रोतले बतायो । शीतल निवासका अनुसार तीन वटै सुरक्षा निकायका भूपू डिआइजी,एआइजी र आइजीपीहरुलाई बोलाइएको छ ।
राष्ट्रपति भण्डारीले दुई हप्ताअगाडि प्रधानसेनापतिलगायत उच्च अधिकृतहरुलाई बोलाएर नागरिकता बिधेयकवारे सल्लाह गर्नुभएको थियो । नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता भएको र संसदको दुवै सदनले उक्त विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर पुनः अस्ति साँझ शीतल निवासमा दर्ता गरिदिएको अवस्थामा भएको सुरक्षा निकायसँगको भेटलाई विभिन्न अड्कलका साथ विश्लेषण गरिएको छ ।
सेनासँगको छलफल आलोचित भएको थाहा पाएपछि प्रहरी,सशस्त्र प्रहरी बल र अनुसन्धान विभागका हाकिमहरुले भोलि राष्ट्रपतिलाई संविधानबमोजिम काम गर्न सल्लाह दिने सल्लाह गरेका छन् । ‘भोलि साढे ३ बजे बोलाइएको छ । सेनालाई मात्रै बोलाउँदा विवादमा आएकाले रास्ट्रपति घर जानु केही महिनाअघि प्रहरी,सशस्त्र र अनुसन्धान विभागका हाकिमलाई पनि दालभात खुवाउने मेसो शीतल निवासले लगाएको अनुमान गरेका छौं । सोधनी भयो भने हामी संविधानबमोजिम काम गर्न सल्लाह दिन्छौं,’ नेपाल प्रहरी स्रोतले बतायो ।
टिप्पणीहरू