अपूर्व क्षितिजलाई थप पाँच दिन हिरासतमा राखिने

अपूर्व क्षितिजलाई थप पाँच दिन हिरासतमा राखिने

कलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्याउने गरी कमेडी गरेको आरोपमा पक्राउ परेका उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।

सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा एक सय चार जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकूमा किटानी जाहेरी दर्ता भएपछि गत भदौ १२ गते अपूर्व पक्राउ परेका थिए । क्षमायाचना गर्दै भिडियो हटाइए पनि १० दिनदेखि हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइको माग उठेको छ ।

संसदमा विशेष समय लिएर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज आफ्नो हाँस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का परे पनि क्षमायाचनापछि थुनामा राखिएको भन्दै आपत्ति जनाएका थिए ।

उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू