अरुको नाममा ट्रायल दिनेहरु किर्ते कागजसहित पक्राउ
नक्कली नागरिकता र प्रवेशपत्र बनाएर अर्काको नाममा लाइसेन्स परीक्षा दिने एउटा समूह भक्तपुरबाट समातिएको छ ।
विगत लामाे समयदेखि ठिमी नगरपलिका-५ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा किर्ते कागजात बनाएर अन्य ब्यक्तिहरुको ट्रायल दिने गरेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका-११ का २० वर्षीय मनिष श्रेष्ठ, २० वर्षीय मनिष लामिछाने, २१ वर्षीय टुल्कु सिंह तामाङ, कालिकोटको महाबई गाउँपालिका-१ घर भइ हाल भक्तपुर बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही र सोही ठाउँ बस्ने गोरखाका २२ वर्षीय राजकुमार श्रीमललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यलय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नक्कली नागरिकता, पासपोर्ट, प्रबेशपत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल बरामद गरेको छ ।
बरामद गरिएकाे सामानसहित पाँचै जनालाई नियन्त्रणमा लिएर लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।
टिप्पणीहरू