सक्कली सामानको किन गर्नु विज्ञापन ?

सक्कली सामानको किन गर्नु विज्ञापन ?

– लक्ष्मण चौलागाईं ‘विद्रोही’

आजको नेपाली समाजमा कमसल सामान किन्ने र रोज्नेहरूको भीड छ कारण सक्कली सामान गरिब जनताले किन्न सक्दैन । त्यस्तै नेपाली राजनीतिमा थुप्रै डुप्लिकेट सामान देखापरेका छन् जसले राष्ट्रियता र सुशासनलाई हतियार बनाएर सदनमा पस्ने अनेकन प्रयास गर्दैछ । नक्कली सामान कहिले प्रधानन्यायाधीशविरुद्ध देखियो भने अहिले उनैले सबका औकात सार्वजनिक गरेपछि कलम बटारिएको देखिन्छ ।

जसले वास्तवमै राष्ट्र र राष्ट्रियताको लागि लड्छ उसले त्यसको ब्याज उठाउने चुनावी मसला किमार्थ बनाउँदैन । देशका लागि लड्नेले आफ्नो स्वार्थ खोज्दैन । बरु सत्तालाई कसरी जनतावादी बनाउने, राज्यलाई कसरी जनप्रेमी बनाउने र मुलुकको नबदलिएको अवस्थालाई कसरी बदल्ने भन्नेमा आफूलाई होम्छ । अचेल त नागरिकता विधेयकविरुद्ध कसैले दुई दिन नारा लगायो भने ३ दिनमा पार्टी दर्ता गर्छ । जसले एमसीसीविरुद्ध नारा लगायो उसैले हाल पार्टी दर्ता गरिसकेको छ । यही हो नबिक्ने सामानको विज्ञापन । यस्तोहरूको बिगबिगी भएको देशमा अब भावी मितिहरू चरम संकटबाट गुज्रनेछन् ।

च्याउसरी उम्रेका, फुटपाथे पसलका छोटा र स–साना दलमा आफन्तवादको लर्को छ । श्रीमती, साली, साला, जेठान, भाञ्जा, भतिजालगायत गोरु बेचेको साइनो समेतलाई नेता बनाएर दल चलाउनेहरू ठूलादेखि साना सबै गोठमा छन् ! हिजो आधा दर्जनजति दल थिए भने आज च्याउसरी उम्रेका छन् । नेपालमा अमेरिका हुलेर आफू वासिङ्टनतिर लाग्नेहरूले हिजो हजारौंको इहलिला समाप्त गरेर आज आफन्तको राज्य चलाइरहेको सबैलाई विदितै छ ।

दिल्लीमा सेफल्याण्डिङ

जनयुद्ध नेपालबाटै सञ्चालित थियो भने किन भारतको दिल्ली दरबारमा गएर १२ बुँदे सम्झौताको नाममा सेफ ल्यान्डिङ भयो ? यदि त्यो विदेशीको इशारामा सञ्चालित थिएन भने किन नेपालको नारायणहिटीमा वार्ता भएन ? यसैले प्रष्ट पार्छ कि विदेशीको इशारामा नेपाली भुट्ने त्यो युद्ध स्वचालित थिएन, परिचालित थियो । परिचालित भएकै कारण पारिगाउँमा सल्लाह गरेर वारिगाउँमा विभिन्न हत्कण्डा अपनाइयो । हजारौंको आहुती र बलिदानलाई कू गरियो ।

खड्गप्रसाद ओलीजीले भन्नुभएझैं बयलगाडा चढेर अमेरिका नपुगिएकै कारण दरबारबाट खोसेर ल्याइएको उपलब्धि महलमा विलय भयो । विदेशीका गोठालाहरूबाट ४० बुँदे एम्बुस थापेर १२ बुँदे दिल्ली आत्मसमर्पण गराइयो । धार्मिक द्वन्द्वको खातिर धर्मनिरपेक्षता ल्यायो त्यो नेपाली जनताको मर्मविपरीत थियो । संघीयताले मिलेर बसेको नेपाललाई ७ टुक्रामा विभाजित गरेर जातीय द्वन्द्वको बिजारोपण ग¥यो ।

के गणतन्त्र यस्तै हुन्छ ?

गणतन्त्र भनेको जनता मालिक हुने व्यवस्था हो । तर, यहाँ जनता दासजस्तो भएको छ । न्यायहिनहरूले न्याय नपाउने व्यवस्था चोलेन्द्रसमशेरका बयानले खुलस्त पारिसकेको छ । गणतन्त्रमा न्यायालय सर्वोच्च हुनुपर्ने थियो तर ऊ स्वयं घायल भएको छ । विक्रम सम्वत् २०१२ सालमा गठित नेपाल प्रहरी सत्य सेवा सुरक्षणम् नारा मात्रै लेख्न विवश छ ।

को सुखी, कसको समृद्धि ?

समृद्धिको नाममा आफैं समृद्ध को भैरहेको छ ? जुन देशका युवा झण्डै पौने करोडको संख्यामा खाडीमा पलायन गरेर रेमिटेन्सद्वारा राज्य चलाइरहेको छ, आफ्नो सेवाभोग गरिरहेको छ तिनीहरूले नै नेपाली जनतालाई समृद्दिको नाममा झुठा विज्ञापन भजाउने । उसैका सन्तान युरोप, अमेरिकामा पढ्ने ? जसले निर्दोष र दीनहीन जनताका छोराछोरीलाई स्कुलबाट थुतेर बलिवेदीमा चढायो आज उनीहरू नै भन्दैछन् जसको नीति, उसैको नेतृत्व । यो विदेशीको नीति र बिदेशीकै नेतृत्व भएको कारण आज मुलुकमा अंगिकृतहरूको राज्य चलेको छ ।

– मेलम्ची –१,भोटेचौर, सिन्धुपाल्चोक

टिप्पणीहरू