भागबण्डा नलाग्दै काँग्रेसले प्रदेशको एक सिट गुमाउँदै

भागबण्डा नलाग्दै काँग्रेसले प्रदेशको एक सिट गुमाउँदै

अबको एक महिनापछि संघीय एवम् प्रदेश सभा निर्वाचनको निम्ति उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । राजनैतिक दलहरु यतिखेर निर्वाचन जित्ने सम्भावित उमेदवारको खोजीमा छन् । खासगरी सत्तारुढ गठबन्धन दलका तर्फबाट दलका शीर्षनेता भागबण्डाका लागि आआफ्ना अडानमा छन् भने विपक्षी एमाले पनि राप्रपासँग तालमेलको तयारीमा देखिन्छ ।

चर्को तानातानले सत्ता गठबन्धन र प्रतिपक्ष दलबीच रोचक भीडन्तको अवस्था देखापर्ने अनुमान लगाउन सकिन्छ । त्यसो त यसअघिको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उमेदवार विजयी भएपछि हौसिएकाहरु पनि चुनावी माहौलमा होमिने तयारी गरेका छन् ।

सोहीक्रममा नेपाली काँग्रेस मनाङले प्रदेश ‘ख’ मा उमेदवारी नदिएर गुण्डा नाइकेको परिचय बनाएका विगतका स्वतन्त्र उमेदवार दिपक मनाड्गे अर्थात् राजीव गुरुङलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि एमालेको समर्थनमा स्वतन्त्र उमेदवारका रुपमा मनाङको प्रदेश ’ख’ बाट विजयी गुरुङ स्वयम्ले आफैँ मन्त्री रहेको एमालेको प्रदेश सरकार ढाल्न भूमिका खेलेका थिए । यस पटक एमालेले समर्थन नगर्ने भएपछि उनी काँग्रेसको शरणमा गएको र काँग्रेसले पनि उसको प्रस्ताव स्वीकारेको बताइन्छ ।

मनाङ काँग्रेसले गरेको उक्त निर्णय भने काँग्रेस मुख्यालयले अस्वीकार गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । एक जना केन्द्रीय नेताका अनुसार गुण्डालाई समर्थन गर्दै आफ्नो प्रभाव क्षेत्रमा उमेदवारी नदिने जिल्लाको निर्णय मुख्यालयलाई स्वीकार्य हुँदैन । तर, हाल गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकारमा मन्त्री रहेकाले उनलाई काँग्रेसबाटै उमेदवार बनाउन सकिने उनले नयाँ उपाय बताए ।

‘कि गठबन्धन मध्येको कुनै दलको उमेदवार बनाउनुपर्यो, नत्र सीट बाँडफाँडमै कुरा नमिलेको बेलामा आफ्नो प्रभाव क्षेत्रमा स्वतन्त्र त्यो पनि विवादित व्यक्तिलाई छाड्ने भन्ने कुरै आउँदैन,’ उनले भने । विवादित छबिका व्यक्तिलाई काँग्रेसले निर्विरोध समर्थन गरेको अवस्थामा गलत सन्देश जाने र त्यसले आमनिर्वाचनको प्रचार प्रसारमा नकारात्मक असर पार्ने उनको बुझाइ छ ।

गुरुङले पुनः स्वतन्त्र प्रदेश सांसद हुन चाहनुको मुख्य कारण फेरि पनि आफूअनुसारको निर्णय गर्न पाइने उद्देश्य बताइन्छ । कुनै पनि पार्टीबाट सांसद हुँदा पार्टी निर्णय मान्नु पर्ने, पार्टीकै अनुशासनमा रहनु पर्ने भएकाले उनले स्वतन्त्र सांसदको हैसियत रुचाएको गुरुङ निकटस्थहरु बताउँछन् ।

मनाङ काँग्रेसले गरेको उक्त निर्णयलाई स्थानीय काँग्रेसी युवाले अस्वीकार गर्ने बताएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री टेकबहादुर गुरुङगले आफ्नो मात्र स्वार्थ पूरा गर्न यस्तो कदम चालिएको बताए । पार्टीको प्रदेश कार्यालय र मुख्यालयले हस्तक्षेप गरेर उम्मेदवार नतोकेको अवस्थामा पनि काँग्रेसका कुनै युवा नेताबाटै उम्मेदवारी पर्ने उनीहरुको भनाइ छ ।

ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वाेच्च अदालतमा मुद्दा खेपिरेहका गुरुङ चुनाव अगावै अदालतको आदेशपछि जेल जान सक्ने सम्भावना प्रवल रहेको बताइन्छ । यसअघि उच्च अदालतले ज्यान मार्ने उद्योगमा दिएको कैद सजायविरुद्ध उनी सर्वाेच्च गएका हुन् ।

मनाङ नेविसंघका अध्यक्ष अनिल गुरुड आफू चुनावी मैदानमा उत्रने तयारी गर्दागर्दै जिल्ला नेतृत्वले गरेको निर्णयबाट रुष्ट बनेका छन् । मनाङ प्रदेश ‘क’ बाट प्रत्यक्ष निर्वाचनमा होमिन चाहने चार जनाको नाम भने सिफारिस भएको छ । साड्दो लामा, छिरीड ग्याल्बो लामा, मुनिन्द्र घले र चन्द्र घलेको नाम सिफारिस गरिएको बताइएको छ । संघीय निर्वाचनको निम्ति एक मात्र उमेदवार टेकबहादुर गुरुडको नाम सिफारिस भएको छ ।

टिप्पणीहरू