उत्तरबाट आइपुगे रास्ट्रपतिपछिका शक्तिशाली पाहुना

उत्तरबाट आइपुगे रास्ट्रपतिपछिका शक्तिशाली पाहुना

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपालको औपचारिक भ्रमणका लागि अहिले भर्खरै बिमान बोइङ्ग B2472 बाट काठमाडौँ आइपुग्नु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा तीनदिनका लागि आउनुभएका अध्यक्ष लिले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पाहुना टोली विमानस्थलबाट सोझै होटल सोल्टीतर्फ गएको छ । सवा घण्टा होटलमा आराम गरेपछि नेपाली समकक्षीसँग भेटवार्ताका लागि लि संसद भवन नयाँ बानेश्वर जानुहुनेछ । सभामुखले लिको सम्मानमा आजै रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भ्रमणको दोस्रो दिन भोलि अध्यक्ष लिले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग उहाँले छुट्टाछुट्टै भेट गर्नुहुनेछ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो पौने चार बजे भेटवार्ता हुने कार्यसूची छ ।

त्यस्तै,राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पनि लिले भोलि नै भेटवार्ता गर्ने कार्यसूची छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भोलि बिहान ९ बजेपछि सँसद भवनमा बेग्लाबेग्लै भेटवार्ता हुनेछ ।

पर्सि बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति भेट्न शीतल निवास पुग्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न साढे ३ बजे शीतल निवास पुग्नुअघि उहाँ भक्तपुर दरवार स्क्वायर घुम्न जानुहुनेछ। भ्रमणको अन्तिम दिन बिहिबार लि यतैबाट दक्षिण कोरियातर्फ लाग्नुहुनेछ ।

यता,चिनियाँ राष्ट्रपति सि चिनफिङले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्दै हुनुहुन्छ । रुस,मङ्गोलिया भएर आउने अध्यक्ष लिले नेपालका सबैजसो विशिष्ट ब्यक्तित्वलाई भेट्दा राष्ट्रपति सिले कजाकस्थान गएर रुसी रास्ट्रपति पुटिनलाई भेट्ने कार्यक्रम छ । अध्यक्ष लिको नेपाल आएको टोलीका १ सय जना सोल्टी,११ जना ह्यात र १४ जना द्वारिकाजमा छरिएर बस्ने छन् ।

कोरोनापछि चिनियाँ उच्च नेतृत्व देश बाहिर निस्केको यो दुर्लभ अवसर पनि हो ।

टिप्पणीहरू