जलविद्युत आयोजनाका जोखिम न्यूनीकरणमा नीतिगत काम भइरहेको छ : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनले आज आयोजना गरेको ’बिल्डिङ ब्याक बेटर एण्ड ग्रिनर विथ सस्टेनेबल हाइड्रोपावर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जलविद्युत आयोजनाहरुको दीगो विकासको निम्ति भरपर्दो र बलियो संरचना निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागिपरेको बताउनुभयो । मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको पनि स्पष्ट पार्नुभएको छ ।
हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दीगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएकी मन्त्री भुसालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनको कारण अप्रत्याशित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रासलगायत असरहरु भोग्नु परिरहेको उल्लेख गर्दै उहाँले दीगो रुपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।
टिप्पणीहरू