वकिल र प्रहरीको दया मायामा हत्या आरोपीहरु छुटे

वकिल र प्रहरीको दया मायामा हत्या आरोपीहरु छुटे

मृत्यु प्रकरणका चार आरोपी छुटेपछि सुर्खेतमा नयाँ बहस शुरु भएको छ । डिभिजन वन कार्यालय, सुर्खेतको हिरासतमा हत्या गरिएको भनिएका ५८ वर्षे धनीराम लामिछाने प्रकरण पुनः बल्झिएको छ । आरोपी चारै जना कर्मचारी हाजिर जमानीमा छुटेपछि मृतक लामिछानेका आफन्तहरु आन्दोलित भएका हुन् ।

पीडित पक्षले आरोपी कर्मचारीमाथि सुक्ष्म अनुसन्धान नगरी सरकारी वकिल र माथिल्लो तहका कर्मचारीको मिलेमतोमा छाडिदिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित आफन्तले जिल्ला प्रशासन कार्यालय,डिभिजन वन तथा जिल्ला सरकारी वकिलको कार्यालयमा धर्नासमेत दिएका छन् ।

आन्दोलनमा उत्रिएकाहरुले सहमतिअनुरुपको २५ लाख रुपैयाँ राहत पाउन बयान फेर्नुपर्ने दबाब दिइएको आरोप लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ को भूतचोकमा भएको अवैध काठ कटानी र त्यसमा लामिछानेको संलग्नताको दावीसहित नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला लामिछानेको हिरासतमा मृत्यु भएको थियो ।

भदौ २ गते डिभिजन वन कार्यालय, सुर्खेतको अपराध अनुसन्धानका क्रममा थुनुवा कक्षमा रहेको समयमा लामिछानेको मृत्यु भएपछि वन कार्यालयका चार जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । कर्मचारीहरुले त्यतिबेला पकाउ पुर्जी जारी नगरी घर खानतलासी गरेर लामिछानेका दम्पतीलाई नै पकाउ गरेको बताइन्छ ।

थुनुवा कक्षमा रहेका लामिछानेले आत्महत्या गरेको वन कार्यालयका कर्मचारीहरुको दावी छ । आफन्तहरुले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।

भदौ ३ गते बसेको सर्वदलीय बैठकले पीडित परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने,दुई जना छोरीलाई उनीहरुको योग्यताअनुसार वन मन्त्रालयमा रोजगारीको व्यवस्था गर्ने,छोरालाई उच्च शिक्षासम्म निःशुल्क पढाउने र दोषीलाई कानुनबमोजिम कारवाही गर्ने सहमति भएपछि आफन्तले शव बुझेका थिए ।

तर सम्झौताविपरित आरोपीहरुलाई छाडिएको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको स्थानीय हस्तराज अधिकारीले बताए ।

लामिछानेले सालको रुख कटान गरेको सुराकी गाउँकै कसैले सब–डिभिजन कार्यालयमा पुर्याएपछि वीरेन्द्रनगर रेञ्जरपोष्टका प्रमुख कृष्णराम धिताल,फरेस्टर सन्तोष खत्री,वन रक्षक पियुषराज तिवारीको टोली घटनाको सत्यतथ्य बुझ्न पुगेको थियो ।
वनको टोली आएको थाहा पाएपछि चिरान काठ काटिरहेकाहरु भागेको र कर्मचारीहरुले लामिछानेकी श्रीमतीलाई पक्रेर वीरेन्द्रनगर लगेका हुन् । श्रीमतीलाई हिरासतमा राखेर खत्रीको टोली पुनः भूतचोक पुगी लामिछानेलाई पक्राउ गरेको आफन्तको भनाइ छ । ‘फरेस्टर खत्रीको टोलीले गाउँदेखि नै कुटपिट गर्दै गाडीमा राखेर वीरेन्द्रनगर ल्याएको,‘ मृतकका आफन्तको भनाइ छ ।

त्यसपछि कार्यालयमा पुनः मरणासन्न हुनेगरी कुटेकै कारण लामिछानेको मृत्यु भएको र झ्यालमा डोरी लगाएर कर्मचारीले झुण्डाएका आफन्तको आरोप र बुझाइ छ । लामिछाने परिवारले आरोपीविरुध्द अदालतमा मुद्दा दर्ता गर्न गए पनि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा नगरेको उनीहरु बताउँछन् ।

२५ दिनभन्दा धेरै हिरासतमा राख्न नमिल्ने कानुनी व्यवस्थाका कारण आरोप लागेका कर्मचारीलाई कर्णाली प्रदेशको वन तथा पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोशीको जम्मामा छाडिएको थियो । कर्मचारी जोगाउन प्रहरीले अनुसन्धान नै फितलो गरेको मृतक लामिछानेका छोरा उत्तम लामिछानेले बताए । आफ्ना बुबाको हत्यामा संलग्नलाई मन्त्रालयका कर्मचारी तथा सरकारी वकिलहरुको मिलोमतोमा छाडिएको छोराको भनाइ छ ।

आफन्तहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम बिष्ट,सरकारी वकिल नवीनकुमार भट्टको मिलेमतो रहेको बताउँछन् । दोषीलाई कानुनी कारवाहीको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू