इञ्जिनियरहरुलाई पैसाको पछि नलाग्न र जनताले बुझ्ने भाषा बोल्न मन्त्री चौधरीको निर्देशन

इञ्जिनियरहरुलाई पैसाको पछि नलाग्न र जनताले बुझ्ने भाषा बोल्न मन्त्री चौधरीको निर्देशन

सहरी विकासमन्त्री मेटमणि चौधरीले इञ्जिनियरहरुलाई पैसाको पछि नलाग्न निर्देशन दिनुभएको छ । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इञ्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अब तपाईंहरुको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईंहरुमाथि ठूलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपूर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’

इञ्जिनियरले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने सुनिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सँधै ध्यान दिन र जनताले बुझ्ने भाषामा बोल्न समेत आग्रह गर्नुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईं जहाँ जानुहुन्छ त्यहाँका आफू मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस्, राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । त्यसबाटै तपाईंहरु सचिव बन्न सक्नुहुने छ ।’

ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन उहाँले स्पष्ट रुपमा चेतावनी दिनुभएको छ । पोष्टिङ भएकै ठाउँमा गएर काममा जान पनि मन्त्री चौधरीले निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू