शारीरिक अशक्तलाई अपाङ्गता परिचयपत्र दैलौमा
गुल्मीको रेसुङ्गा नगरपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शारीरिक रुपमा पूर्ण अशक्त ४८ वर्षीय पुनिकला आचार्यलाई जनप्रतिनिधिहरुले घरमै पुगेर परिचयपत्र प्रदान गरेका हुन् ।
रेसुङ्गा नगरपालिका १४, रातामाटा बस्ने आचार्य लामो समयदेखि ओछ्यानमा थलिएकी छन् । हिजो नगरप्रमुख खिलध्वज पन्थीसहितको टोलीले उनको घरमै गएर (क) वर्गको परिचयपत्र दिएको हो ।
पछिल्लो समय नगरपालिकाले अपाङ्ग, अशक्त, असहाय र दुःखीलाई घरमै पुगेर सेवा दिन थालेको छ । गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आचार्यको घरमै पुगेर नागरिकता प्रदान गरेका थिए ।
नागरिकता र अपाङ्गता परिचयपत्र नभएकाले आचार्य सरकारबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।
टिप्पणीहरू