मानवता र सार्थक लोकतन्त्र

मानवता र सार्थक लोकतन्त्र

नमस्कार शाह

कुनै समय थियो, एउटा राजनिक पार्टीको नेता, कार्यकर्ता वा समर्थक अर्काे राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थकसँग फरक आस्था भएकै कारण पानी बाराबार हुने, बोलचाल बन्द हुने, एक अर्काको झण्डा च्यात्ने, जलाउने, अर्काे पार्टीको कार्यक्रम बिथोल्ने । १२ वर्षे जनयुद्ध सञ्चालन गर्ने माओवादीले विभिन्न पार्टीलाई शत्रुको रुपमा लिएर वर्गीकरण समेत गरेको थियो ।

तर अहिले समय बदलिएको छ । सबै पार्टीबीच सैद्धान्तिक भिन्नता भए पनि, राष्ट्रिय सवालका विषयमा सहमति नभए पनि पानी बारबारको स्थिति छैन, बोलचाल नै बन्दको अवस्था छैन । तथापी स्थानीयस्तरमा विभिन्न खालका झडप नभएका भने होइनन् । विश्व ईतिहासमा हाम्रा नेताहरु विभिन्न कारणले असफल होलान्, जिम्मेवारी बहन गर्न नसकेर अलोकप्रिय होलान् तर केही राम्रा काम पनि अवश्य गरेका छन् । यस्तो विश्वका धेरै राष्ट्रका नेता र दलहरुमा समेत देखिँदैन । अधिकांश पार्टीका नेता अर्को पार्टीको महाधिवेशन, कार्यक्रममा सहभागी भएको, शुभकामना दिएको हामी सहजै हेर्न सक्छौं ।

सँधै नयाँ वर्ष र चाड विशेषमा आयोजना हुने चियापान समारोहमा सबैजसो पार्टीका नेताहरुको बाक्लो उपस्थिति नेपालको राजनितिक परम्पराको रुपमा रहँदै आएको छ । त्यो पनि राजनीतिक रुपमा प्रशंसनीय कार्य हो ।

एउटा पार्टीको कार्यक्रममा अर्काे पार्टीका नेता, कार्यकर्ताले सहभागिता जनाउँछन् । उनीहरु कार्यक्रममा सहभागी भएर अर्काे पार्टीको आलोचना मात्रै गर्दैनन्, राम्रो कामको समर्थन र शुभकामना पनि दिन्छन् । यो नै सार्थक प्रजातन्त्र, लोकतन्त्र भएको उदाहरण हो । आफ्ना मनमा लागेका कुरा सही स्थानमा राख्नु र त्यसको समाधान खोज्नु, खुलेर छलफल गर्नु, बहस गर्नु, तर्क गर्नु यहि नैं प्रजातन्त्र, लोकतन्त्रको मूल उद्देश्य हो भन्नुमा कुनै द्विविधा छैन ।

तर, हाम्रो सिंगो समाज होइन, समाजका अग्रज र समाज परिवर्तनका ठेकेदार भनिएका केही राजनीतिक तथा सामाजिक व्यक्ति पूर्वाग्रहको रोगबाट ग्रसित छन् । सहकार्य, समन्वयको भाषण छाँट्ने राजनीतिक नेताहरु पूर्वाग्रही मानसिकताबाट अघि बढेको पाइन्छ । आफूले गरेका काम सबै ठीक, आफूभन्दा फरक मत राख्ने व्यक्ति वा संस्थाले गरेका सबै काम बेठीक भन्ने राजनीतिक नेता, कार्यकर्ताहरु पनि हाम्रै समाजमा छन् । जसले अरुको कामको सँधै आलोचना गर्नुलाई आफ्नो कर्तव्यबोध ठान्दछन् ।

तीमध्ये पनि केही यस्ता आलोचक छन् जो उचित ठाउँमा गुनासो वा आलोचना गर्दैनन् । असम्बन्धित ठाउँमा आलोचना गर्नेहरु सम्बन्धित ठाउँ वा व्यक्तिसँग दुई शब्द राख्न हिच्किचाउँछन् । सकभर जसको आलोचना गरिएको छ, उसको अगाडि देखा नपर्ने, देखा परि हाले पनि हतार र विभिन्न बहानामा भाग्ने ध्याउन्नमा हुन्छन् । यो सम्बन्धमा एक जना विद्धानले भनेझैं आलोचनाका लागि मात्रै आलोचना, मनोरञ्जनका लागि मात्रै आलोचना भन्ने भनाईलाई सम्झनु उपयुक्त हुन्छ ।
अहिले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा निर्वाचनको संघारमा देश अघि बढेको

छ । यो क्रममा जबर्जस्त जस लिने र विपक्षी दल वा दलका नेताहरुको बदनामी गर्ने कार्यमा नेता, कार्यकर्ता र अन्धभक्त समर्थकहरु लागि परेका छन् ।

यी उल्लेखित विषय र सन्दर्भ लोकतान्त्रिक कार्य होइनन् । कुनै पनि समस्याको समाधान छलफलबाट हुन्छ, बहसबाट हुन्छ ढाड फर्काएर हुँदैन । हामीले समाजमा झै झगडापछि बोलचाल नै बन्द गरेका छिमेकीहरु समेत सुख, दुःखमा सँगै भएको देखेका छौं । त्यस्ता छिमेकी उनीहरुको विवाह, ब्रतबन्ध समारोहमा सहभागी भएको, बिरामी हुँदा उपचार गर्न अस्पताल गएको, मर्दा वा पर्दा मलामी गएको हामी देखेकै छौं । यो नै वास्तविक मानवता र भातृत्वको उदाहरण हो ।

सबैभन्दा ठूलो कुरा मानवता र भ्रातृत्व हो । त्यहिँबाट धेरैजसो आदर्शका कुराको प्रारम्भ हुन्छ । जब भ्रातृत्व र मानवतालाई नै अंगीकार गर्न सकिँदैन भने त्यहाँ लोकतन्त्र, प्रजातन्त्रको कुरा गर्नुको अर्थ नै के रह्यो र ?

समाजमा केही यस्ता प्रतिनिधि पात्र पनि देखिन्छन्, जो आफू अनुकूल विपरित विचार र समूहका व्यक्तिलाई सुखद् कार्यमा सहभागी गराउँदैनन् । दुःखमा पनि सहभागी नभएकै हेर्न र देख्न चाहन्छन् । जिवित हुँदासम्म वास्ता नगर्ने राजनीतिक दलका नेताहरु निधनपछि अन्तिम दाहसंस्कारमा आआफ्नो झण्डा ओढाउन तँछाड मछाड गरेको पनि देखिएकै छ । जनआन्दोलन भाग २ मा शहीद भएकाहरुको अन्तिम दाहसंस्कारमा त्यस्तै देखिएको थियो । जो जुन ठाउँमा बलियो थियो, सोही पार्टीको झण्डा मात्रै ओढाइयो, अरु झण्डा ओढाउनबाट बञ्चित भए ।

यसबाट झण्डा ओढाउने बितिक्कै सहादत प्राप्त व्यक्ति अर्काे पार्टीको भइहाल्छ र ? भन्ने प्रश्न उठेको छ । शहीद पनि कुनै एउटा पार्टीको बिर्ता हुन्छ र ? तर यो प्रश्न आजसम्म गर्भमै छ । कुनै सार्वजनिक व्यक्तिको निधनमा सबैले दुःख मनाउ गर्न पाउनुपर्छ, उसप्रति श्रद्धाञ्जली व्यक्त गर्न पाउनुपर्छ यो पनि व्यक्तिको नैसर्गिक अधिकार हो । दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्नबाट रोक्नु उसप्रति घोर अपमान गर्नु पनि हो । तसर्थ पूर्वाग्रहबाट माथि उठौं, मानवताको परिचय दिऔं, सार्थक लोकतन्त्रलाई संस्थागत गरौं ।

टिप्पणीहरू