‘प्रकृतिको विनाशकारी नै मान्छे ’

‘प्रकृतिको विनाशकारी नै मान्छे ’

जंगली जनावरको हिँड्ने परम्परागत बाटो मिचेपछि हात्तीको आक्रमणमा परेर मान्छेहरु अकालमा मर्न थाले । नदी र तलाउको पानी विषक्त हुन थाल्यो । त्यसैले चराहरु धमाधम मासिन थाले । नदीको बहावलाई जबरजस्ती बाँध बाँधेर मान्छेले छेक्न खोज्दा ठूला बाढी मानव बस्तीमा पसेर संहार गर्न थाल्यो ।

भन्नका लागि प्रकृतिको संरक्षण क्षेत्र निकुन्ज भनिन्छ । तर त्यहाँभित्रको अवैध दोहन रोकिएको छैन । प्रकृतिको चौतर्फी दोहनले परम्परागत रुपमा जीवन धान्ने आदिवासी जनजातिहरुको जीवन संकटमा परेको छ । उनीहरुको उठिबास लाग्न थालेको छ । लोभी पापीहरुले नियम मिचेर प्रकृतिको दोहन गरेको गर्यै छन् । तर दोष प्रकृति संरक्षण गरेर वर्षौंदेखी जीवन धानिरहेका स्थानीय आदिवासी जनजातिमाथि लगाउन थालिएको छ ।

भौतिक र कृत्रिम विकासका लागि प्रकृतिको दोहन यतिसम्म भयो भयो कि नदीहरुको स्वतन्त्र रुपले बग्न पाउने प्राकृतिक अधिकारमाथि प्रहार भयो । हुँदाहुँदा अब त हिमालमा हिउँ समेत पग्लिएर रित्तिने अवस्थामा पुगेको छ । फागुन नलाग्दै काला चुचुरोले त्यसैको संकेत गरेको छ ।

‘हरे ! विकासका नाममा विनाशको मुख्य नाइके त मान्छे नै पो रहेछ, चेत कहिले आउँछ होला ?’ विराटनगरको आरोहरण गुरुकुलमा ‘हिउँको पृथ्वी यात्रा’ नाटक हेरेपछि ७० वर्षीया वृद्धा कमला शर्माले आफन्तसँग सुस्केरा हालिन् । उनलाई विकासका नाममा मान्छेले ‘दिन दुई गुणा रात चौगुणा’ प्रकृतिको दोहन गरेको पटक्कै मनपरेको छैन । त्यसैले नाटक हेरिसकेपछि उनले कलाकारहरुलाई बाहिर अँगालो हाल्दै भनिन, ‘बाबुहरुले साह्रै राम्रो काम गर्नुभएको रहेछ । तर यो मुर्ख चेत भएको मान्छेलाई जगाउन यति मात्रै पर्याप्त छैन । नाटकलाई देश यात्रामा लैजानुहोला ।’

कमला शर्मा मात्र होइन, विराटनगरका वुद्धिजिवी दिनेश श्रेष्ठ, दधिराज सुवेदी, साहित्यकार सीमा अभाष, पत्रकार महासंघ प्रदेश १ महासचिव विवेक गौतमलगायत सबैले गुरुकुलमा भदौ २४ देखि २६ गतेसम्म मञ्चन भएको नाटक हिउँको पृथ्वी यात्राको प्रशंसा गरेका छन् । नाटक हेरेका सबैले जलवायु परिवर्तनको असर र प्रभाव बुझाउन तथा प्रकृति संरक्षणको महत्व बुझाउन नाटक अति नै सन्देशमूलक भएको बताएका हुन् ।

चर्चित नाटककर्मी घिमिरे युवराज र अमजद प्रवेजको लेखन तथा निर्देशन रहेको नाटक हिउँको पृथ्वीयात्रा प्रदेश १ को राजधानी विराटनगर र झापाको काँकडभिटामा मञ्चन भइसकेको छ ।

काठमाडौंमा मञ्चनपछि निक्कै चर्चा कमाइसकेको उक्त नाटकमा कलाकार रविन परियार, संंगीता उराव, पवित्रा खड्का, झकेन्द्र बिसी, ज्योती पोखरेल, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लुहार र ज्याक बरालको अभिनय प्रभावकारी देखिन्छ । नेपाली र थारु भाषाको उक्त नाटकमा नौ जना कलाकारले जीवन्त अभिनय मात्र गरेका छैनन्, धेरै बिम्बहरु देखाउन फरक पात्र बनेर आफनो खुबीसमेत प्रस्तुत गरेका छन् ।

स्मारिका फुयाँल र अनुप तिम्सिनाको प्रत्यक्ष संगीत रहेको नाटकको प्रस्तुती शिल्पी थिएटरले गरेको हो ।

टिप्पणीहरू