पूर्वप्रधानमन्त्रीलाई काठमाडौंका मेयरको जवाफ

पूर्वप्रधानमन्त्रीलाई काठमाडौंका मेयरको जवाफ

काठमाडौँ महानगरपालिकामा फुटपाथ व्यवस्थापनको विषलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल जवाफ भएको छ । आज डा. भट्टराईले पहिले ट्विटरमार्फत मेयर बालेनलाई फुटपाथ व्यवस्थापनबारे सुझाव दिनुभएको थियो ।

मेयर बालेनको कार्य प्रशंसनीय उल्लेख भन्दै लेख्नुभएको छ, ‘काठमाडौँ मनपालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर साहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’डा. भट्टराईले फुटपाथ व्यवसायीहरुको हिजोको आन्दोलनलाई लक्षित गरेर उक्त स्टाटस लेख्नुभएको बताइन्छ ।

तर लगत्तै मेयर बालेनले फर्काएको जवाफमा भनिएको छ, ‘यो कुरा त तपाईंले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नु पथ्र्यो नि ।’

दुवै नेता इञ्जिनियर पृष्ठभूमिका हुन् । डा. भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकाका सडक फराकिलो बनाउने क्रममा धेरै घर भत्किएका थिए । तत्कालीन समयमा भट्टराईको विरोध गर्ने काठमाडौँबासी धेरै भए पनि अहिले उक्त निर्णय सही रहेको उनैले स्वीकारेका छन् ।

तर मेयरले फुटपाथ खाली गराउने अभियान मात्रै थालेका छैनन् । हिजोदेखि काठमाडौँको मध्यभाग भएर बग्ने टुकुचाको मार्ग पत्ता लगाउने, भूमिगत बनाइएको भाग उत्खनन् गर्ने र संरक्षण गर्ने अर्को अभियान थालिएको छ ।

टिप्पणीहरू