राष्ट्रपतिविरुद्ध मधेसमा चरणवद्ध आन्दोलन शुरु

राष्ट्रपतिविरुद्ध मधेसमा चरणवद्ध आन्दोलन शुरु

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ ।

जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७ गतेसम्म पहिलो चरणमा संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । जसअनुसार भोलि नागरिक समाज, बुद्धिजीवी,पत्रकार, शिक्षक,प्राध्यापक, व्यापारी,कानून व्यवसायी,पेशाकर्मी तथा अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने जनाइएको छ ।मधेसका आठ वटै जिल्ला सदरमुकामहरूमा भ्रातृ संगठनहरूको विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने र असोज १५ देखि १७ गतेसम्म सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपति भण्डारीले चालेको कदम तथा विधेयकको बारेमा सर्वसाधारणलाई जानकारी गराउने जसपा मधेस प्रदेश समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनलाई सफल तुल्याउन मुख्य सचिव यादवले मधेशका आठै जिल्लाका पार्टी समन्वय समितिमा परिपत्र गरेका छन् ।

टिप्पणीहरू