अहेब छैनन्, जेलमै मरे को जिम्मा ?

अहेब छैनन्, जेलमै मरे को जिम्मा ?

जिल्ला कारागार म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरूलाई सास्ती भएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको २५ पुरुष र ७ महिला गरी ३२ जना क्षमताको कारागारमा अहिले १९ बन्दीसहित ८३ पुरुष र २ महिला गरी ८५ जना कैदीबन्दी छन् ।

कारागार कार्यालय म्याग्दीका प्रमुख जेलर धीरेन्द्रराज पन्तकाअनुसार कार्यालय प्रमुख अधिकृतस्तर एकजना, नायब सुब्बा एक, खरिदार एक, सह–लेखापाल एक, सहायक कम्प्युटर अपरेटर एक, अहेब एक र चारजना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि साढे दुई वर्षदेखि अहेब रिक्त हुँदा कैदी बन्दीलाई समस्या भएको छ ।

पन्तले भन्नुभयो– ‘म आएको डेढ वर्ष भयो, म आउनुभन्दा पहिला एक वर्षदेखि नै अहेब नरहेको अघिल्ला जेलर राजेन्द्र शर्माले भन्नुभएको थियो ।’ कारागारमा अहेब नहुँदा कैदीबन्दीको उपचारमा निकै समस्या भएको कारागारका चौकीदार वसन्त रोकाले बताउनुभयो । मालिका गाउँपालिका–६, दरबङ घर भई कैद भुक्तानी गरिरहेका चौकीदार रोकाले भन्नुभयो, ‘नियमित औषधि खानुपर्ने सुगरका दुईजना, प्रेसरका ६ जना बिरामी हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यको निगरानी गरिरहनुपर्ने भए पनि लामो समयदेखि कारागार कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।’

सामान्य समस्या भयो भने पनि कैदीबन्दी सारा प्रक्रिया पुर्याएर बेनी अस्पताल नै पुग्नुपर्छ, कैदीबन्दीको समस्या समाधानका लागि भए पनि राज्यले उचित ध्यान दिनुपर्ने रोकाको भनाइ थियो ।

गत शनिबार कारागारको निरीक्षणमा आउनुभएका गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलालगायतको टोलीलाई जेलर पन्तले दरबन्दीको स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गर्नुभएको छ । निरीक्षण टोलीमा न्यायाधिवक्ता गोविन्द गिरी, म्याग्दीका प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक तिलक भारती, इन्सेक प्रतिनिधि अमृत बास्कुने, मानवअधिकार तथा शान्ति समाजका सभापति सन्तोष गौतमलगायत मानव अधिकारसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

मुख्य न्यायाधिवक्ता नेतृत्वको टोलीले यसअघि गोर्खा, तनहुँ, बागलुङ र कास्कीको कारागार तथा हिरासत कक्षको निरीक्षण गरिसकेको र यसपटक म्याग्दीको निरीक्षणपश्चात् मुस्ताङतर्फ लागेको गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवं निरीक्षण टोलीका सदस्य शान्तिदेवी शर्माले बताउनुभयो ।

– अमृत बास्कुने

टिप्पणीहरू