पोखरा महानगरपालिकाद्धारा आफ्नै भवनको अण्डरग्राउण्ड खाली
पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरेको छ । सृजनाचोकस्थित महानगर भवनको भूमिगत पार्किङ खाली गरिएको हो ।
मापदण्डविपरीत सञ्चालन भैरहेका सरकारी तथा नीजि भवनका बेसमेण्टहरु हटाउने अभियान थालेको महानगरले आफैँबाट त्यसको सुरुआत गरेको हो । गत भदौ १३ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेर महानगरले भूमिगत पार्किङहरुमा गाडी पार्कबाहेक अन्य कुनै क्रियाकलाप सञ्चालन नगर्न र गरेको भएको सो अवधिभित्र हटाउन निर्देशन दिएको थियो ।
सूचनाको म्याद सकिन केही दिनमात्र बाँकी रहेका बेला महानगरको भूमिगत पार्किङ खाली गरी अभियानको शुभारम्भ गरेको नगरप्रमुख धनराज आचार्यले बताए । उनले भने,‘यो एउटा शुभारम्भ हो, पोखरामा जतिपनि घरहरु छन्, तिनका घरधनीलाई बेसमेण्ट पार्किङकै लागि प्रयोग गर्नुहोला भनेर अनुरोध गर्दछु ।’
बेसमेण्ट पार्किङको अनुमति लिएर निर्माण भएका घरहरुमा अनिवार्य यो नियम लागु गरिने उनको दाबी छ । ‘पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी प्रयोजनविपरीत प्रयोग भइरहेका पार्किङलाई सोही प्रयोजनका लागि उपयोग गर्न आग्रह गरिएको छ’, उनी भन्छन्,‘यसका लागि ३५ दिनको समय पनि तोकिदिएका छौं ।’
सूचनाको अवज्ञा गर्नेलाई नियमानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । साथै, नगर प्रमुख आचार्यले भूमिगत पार्किङमा व्यापार सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल सामान स्थानान्तरण गर्न सूसुचितसमेत गराएका छन् । पोखरा महानगरपालिकाभित्र २५० बढी घरहरुमा भूमिगत पार्किङ छन् ।
टिप्पणीहरू