म बेपत्ता भएको छैन : भीमबहादुर रावल

म बेपत्ता भएको छैन : भीमबहादुर रावल

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू पार्टीको सम्पर्कमै रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशका नेताहरुले बालकोट पुगेर अध्यक्ष केपी ओलीलाई ‘रावल पार्टीको सम्पर्कमा नरहेको’ रिपोर्टिङ गरेपछि रिसाएका उनले आज सामाजिक सञ्जालमार्फत आफू सांगठनिक काममै रहेको बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र अछाम-१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रुपमा सहभागी भएको र यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको भन्दै रावलले सम्पर्कविहीन रहेको भन्ने कुरा नै हास्यास्पद रहेको बताए ।

रावलले ट्विटरमा लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ । योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’

एमाले अध्यक्ष ओलीको खरो आलोचना गर्ने रावल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम- १ बाट एकल सिफारिसमा परेका छन् । तर, अध्यक्ष ओलीले भने रावसहित ‘१० भाइ’ नेतालाई आत्मालोचना गराएरमात्र टिकट दिने तयारी गरेको बताइन्छ । १० भाइ भनिने एमालेको तत्कालीन माधव नेपाल समूहका उनीहरुले आफू नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको भन्दै ओली उतिबेलै असन्तुष्ट थिए । त्यसैको इखका कारण उनीहरुलाई आत्मालोचना गराउन लागिएको हो ।

टिप्पणीहरू