जथाभावी कर्मचारी भर्तीले राससमा तनाव, आन्दोलन चर्काउने तयारी
राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत स्थायी र अस्थायी कर्मचारीबीच चर्को अन्तरविरोध चलेको छ । जथाभावी कर्मचारी भर्ना गर्नाले राससमा द्वन्द्वको अवस्था सिर्जना भएको हो । स्थायी कर्मचारी नियुक्त लिएर आउने भएपछि आफूहरुलाई हटाइने डरले अस्थायी कर्मचारीहरु आक्रोशित देखिएका छन् ।
२०७७ माघमा लोक सेवा आयोगले राससका लागि कर्मचारीको विज्ञापन गरेको थियो । आन्तरिक, खुल्ला तथा समावेशी माध्यमबाट भर्ना गर्न आयोगले पत्रकार तथा प्रशासनतर्फका पदहरुमा कर्मचारी मागेको थियो । स्थायीतर्फ ११ पदका लागि १८ जना कर्मचारीको विज्ञापन गरियो । आयोगले अधिकृतस्तरको आठौं, सातौं, छैठौं र सहायकतर्फ पाँचौं र चौँथो तहका कर्मचारी मागेको हो ।
जसअन्तर्गत समाचारदाता–वरिष्ठ सम्पादक एक, सहसमाचारदाता–सहसम्पादक एक, उपसमाचारदाता–उपसम्पादक एक र अन्य पदका लागि कर्मचारी माग भएको हो । त्यस्तै, प्रशासन र प्राविधिकतर्फका केही कर्मचारीको निम्ति पनि विज्ञापन गरिएको थियो ।
आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि अधिकृतस्तर तह ६ मा कम्तीमा प्रविणता प्रमाणपत्र तह र अधिकृतस्तर सातौं र आठौं तहका लागि स्नातक उत्तीर्ण हुनुपर्ने योग्यता निर्धारण गरिएको थियो । छैठौं तहका लागि सम्बन्धित विषयमा स्नातक, पाँचौं तहको वरिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय लिएर कक्षा ११ र १२ उतीर्ण भएको हुनुपर्ने प्रावधान थियो ।
सहायकस्तर चौथो तहको निम्ति एसएलसी वा एसईईमा न्यूनतम दुई जीपीए ल्याएको हुनुपर्ने बताइएको थियो । आयोगले गत साउन २५ गते लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । १८ जनाको निम्ति ४४ जना छनोट भएका हुन् । तिनैको गत ४ गतेदेखि अन्तरवार्ता लिने काम भइरहेको छ ।
१० दिन अघिदेखि शुरु भएको अन्तरवार्ताको आज अन्तिम दिन भएको आयोगले जनाएको छ । आयोगले १८ जनाको अन्तरवार्ता लिन १० दिन लगाएपछि यतिखेर गम्भीर प्रश्न उठेको बताइन्छ । एकाध दिनमा सकाउनुपर्ने र सकिने अन्तरवार्ता हालसम्म पनि सञ्चालन गर्नु नै रहस्यमय भएको केही कर्मचारी बताउँछन् । यता, भोलिदेखि लोकसेवा पनि पनि बन्द हुँदैछ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले दिनमा एउटा मात्र पदका लागि अन्तरवार्ता लिइएकाले ढिलाइ भएको बताए । समय मिलाउनुपर्ने र अन्य कार्यक्रमसमेत प्रभावित पार्न नमिल्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ ।
आज अन्तरवार्ता सकाएर बेलुकी वा भोलि बिहानसम्म नतिजा प्रकाशन गर्ने तयारी गरिएको उनै सुवेदीले जानकारी दिए । उनी अन्तरवार्ताका लागि आयोगबाट राससमा खटाइएका प्रतिनिधिसमेत हुन् ।
यता, स्थायी कर्मचारी आउने बित्तिकै अस्थायी कर्मचारी हट्ने भएपछि अहिले राससमा द्वन्द्व चलेको छ । स्थायी र अस्थायी कर्मचारीबीचको मतभेद उत्कर्षमा पुगेको छ । ‘स्थायी कर्मचारी आएपछि अस्थायी स्वतः हटिहाल्छन्’, उनले भने, ‘फालिने हो कि भनेर अहिले आन्दोलन चर्काउनु वा दबाब दिनुको केही फाइदा छैन ।’
स्थायीको निम्ति विज्ञापन गर्दागर्दै करार कर्मचारी भर्ना
पछिल्लो समय हरेक सरकारी निकायमा अस्थायी र करारमा कर्मचारी लिने प्रवृत्ति मौलाएको छ । अस्थायी कर्मचारीको माग गरिएको सूचना सञ्चार माध्यममा दिनहुँजसो आइरहेको हुन्छ । रासस पनि उक्त कार्यमा अग्रसर भएकै हो । २०७७ माघ ३० गते लोकसेवा आयोगले राससमा कर्मचारी भर्नाका लागि विज्ञापन गरेको थियो । तर, संस्थाको बजेटलगायत विभिन्न कारणले गर्दा परीक्षा सञ्चालन गर्न ढिलाइ भएको रासस स्रोतले बतायो ।
स्थायी कर्मचारी भर्नामा ढिलाइ भएपछि उक्त पदका लागि करारमा कर्मचारीको विज्ञापन गरिएको हो । आयोगले स्थायी कर्मचारी भर्नाको विज्ञापन खुलाएको जानकारी हुँदाहुँदै राससले करारमा कर्मचारी राखेपछि अहिले तनावको अवस्था सिर्जना भएको हो ।
करार कर्मचारी भर्ना गरेपछि राससभित्र मनमुटाव शुरु भएको सूचना अधिकारी सुवेदी पनि स्वीकार्छन् । तर, उनीहरुलाई भर्ना लिने बेलामा सम्पूर्ण प्रावधानबारे जानकारी गराइसकेकाले अहिले रोइकराई गर्नुको औचित्य नभएको उनको भनाइ छ । आफूलाई जागिरबाट नहटाउन अस्थायी कर्मचारीहरु पटक पटक माग गर्दै आए पनि त्यो सम्भव नभएको उनी बताउँछन् ।
आन्दोलन चर्काउने करार कर्मचारीको चेतावनी !
आफूलाई हटाउने तयारी भएसँगै राससका करार कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिल्यैदेखि स्थायी र अस्थायी कर्मचारीबीच ठूलो भेदभाव रहेको र जागिर खोस्ने प्रपञ्च मिलाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
स्थायीलाई दशैंसहित तिहारको समेत खर्चको व्यवस्था गरिँदा अस्थायीले बल्ल दशैं खर्च पाएका छन् । तीमध्येका एक कृष्णराज गौतमले आन्दोलनको तयारी थालिएको जानकारी दिए । करार कर्मचारीलाई सरकारले गन्दै नगनेको उनको भनाइ छ । उनी भन्छन्, ‘आज छलफल गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।’
टिप्पणीहरू