माओवादी अध्यक्ष गोरखा २ बाट उठ्ने सम्भावना, बाबुराम भट्टराईद्वारा चुनाव नलड्ने घोषणा
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणाा गर्नुभएको छ । उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार नदिने जानकारी गराउनुभएको छ ।
डा. भट्टराईको उक्त घोषणासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो क्षेत्रबाट आगामी निर्वाचनमा उठ्ने सम्भावना बढेको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु, मेरो ठाउँमा तपाईंहरूले थप सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुने छ । गोरखाको विकासको गतिले अझै तीब्रता पाउने छ । म तपाईंहरुको साथमा हुने छु ।’

डा. भट्टराईको उक्त स्टाटसले पनि अध्यक्ष प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार हुने संकेत मिलेको बताइन्छ । उहाँले भन्नुभएको ‘थप सक्षम र जिम्मेवार व्यक्ति’ प्रचण्ड नै रहेको आकलन गरिएको हो ।
डा. भट्टराईले गृह जिल्ला गोरखामा पुगेर भन्नुभयो, ‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मत दिएर विजयी गरानुभएकोमा आभार व्यक्त गर्छु । तर अब उठ्दिनँ ।’
आफ्नो कार्यकालमा गोरखाको मुहार फेर्न सफल भएको भट्टराईको दाबी छ । रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन आफू संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।
टिप्पणीहरू