प्रचण्डको किन डुलिरहन्छ मन ?

प्रचण्डको किन डुलिरहन्छ मन ?

चुनावको मनोनयन मिति नजिकिँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रबारे अन्यौल उस्तै छ । यसअघि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी दाहाललाई पुनः सोही क्षेत्रमा कायम रहन अन्य दलका नेता तथा कार्यकर्ताले समेत आग्रह गरिरहँदा पनि उहाँले यसपटक गोरखाबाट प्रतिस्पर्धा गर्ने मनस्थिति बनाउनुभएको चर्चा छ ।

अध्यक्ष दाहालले अब चितवन–३ बाट चुनाव नलड्ने जानकारी दिँदै वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले उहाँ गोरखा–२ जाने निश्चित भएको जानकारी गराएका छन् । पनेरुले सामाजिक सञ्जालमार्फत् अध्यक्ष दाहालले गोरखा रोज्नुभएको बताएका हुन् ।

यता नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भरतपुरमा बसेको बैठकले दाहाललाई चितवन ३ बाटै चुनावी प्रतिस्पर्धा गर्न सुझाएको छ । काँग्रेस बैठकले मुलुक, संविधान,लोकतन्त्र, शान्ति र विकासका निम्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको जानकारी दिइएको छ ।
‘उहाँलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ नछाड्न आग्रह गर्ने निर्णय गरेका छौं,’ बैठकपछि एक जना सदस्यले भने ।

माओवादी अध्यक्ष दाहाल संसदीय निर्वाचनमा सहभागी भएपछि हालसम्म चार वटा जिल्लाबाट उम्मेदवार बनिसक्नुभएको छ । अब गोरखाबाट उम्मेदवार भएमा पछिल्लो १५ वर्षमा उहाँले रोज्नुभएको जिल्लाको संख्या ५ पुग्नेछ ।

यसअघि उहाँले रोल्पा, काठमाडौं,सिरहा र चितवनबाट प्रतिस्पर्धा गरिसक्नुभएको छ ।

टिप्पणीहरू