भूपूले समेत रोजिखोजी पाउँदा स्वास्थ्य मन्त्री सबैतिरबाट छुटे
सत्तारुढ गठबन्धनमा हिजो अबेर सीट बाँडफाड भएलगत्तै नेकपा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार पनि तय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको निम्ति भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
जसअनुसार एकीकृत समाजवादीले संघीय संसदको निम्ति अध्यक्ष माधवकुमार नेपाललाई रौतहटको निर्वाचन क्षेत्र नम्बर १ र सम्मानित नेता झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको छ ।
त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडालाई उदयपुर क्षेत्र नम्बर २, पूर्व श्रममन्त्री किसान श्रेष्ठलाई बारा ४,पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई काठमाडौं ८, कृष्णलाल महर्जनलाई ललितपुर २,पार्टी उपाध्यक्ष तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई धादिङ १ मा उम्मेदवार बनाइएको छ ।
मकवानपुर २ मा विरोध खतिवडा,कास्की २ मा श्रीनाथ बराल,गुल्मी २ मा रामकुमारी झाँक्री, पाल्पा २ मा सोमप्रसाद पाण्डे,रुपन्देही २ मा राजु गुरुङ र दाङ १ मा मन्त्री मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय पनि सङ्गसङ्गै भएको छ ।
उता सल्यानमा प्रकाश ज्वाला,डोल्पामा धनबहादुर बुढा, दैलेख १ मा अम्बर थापा,अछाम १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेमबहादुर आलेमगरको नाम तय गरिएको छ । तेह्रथुमबाट निर्वाचित र हाल स्वास्थ्यमन्त्री भवानी खापुङ्गको भने कतैबाट पनि नाम परेको छैन ।
टिप्पणीहरू