अनेकौं आग्रह अस्वीकार,पेरिस डाँडाबाट रातारात चितवन छाड्ने निर्णय
हिजो रातिसम्म बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छाडेर गोरखाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
यसअघि चितवनमा बसेको सत्ता गठबन्धनको बैठकले अध्यक्ष दाहाल चितवनको आफ्नै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवार बन्नुपर्ने र आफूहरुले जिताइदिने निर्णय गरेको थियो । त्यसको नेतृत्व नेपाली काँग्रेसका राजेश्वर खनालले गरेका थिए ।
तर नेपाली काँग्रेसभित्रको अन्तरविरोधका कारण अध्यक्ष दाहाललाई काँग्रेसको एउटा पक्षले खुलेर विरोध गर्ने, मतदान नगर्ने संकेत पाएपछि प्रचण्ड हच्किनुभएको बताइन्छ ।
यसअघि अध्यक्ष दाहाल २०६४ मा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित हुनुभएको थियो । तर २०७० मा सिरहा ५ र काठमाडौं १० बाट उठे पनि सिरहाबाट मात्रै विजयी हुनुभयो ।
गत निर्वाचनमा चितवन ३ बाट विजयी उहाँ यसपटक गोरखा २ बाट उम्मेदवार बन्न लाग्नुभएको छ । गत स्थानीय चुनावमा यहाँका ११ मध्ये ९ तह माओवादीले जितेपछि प्रचण्ड झन गोर्खा जान हौसिनुभएको हो ।
टिप्पणीहरू