काठमाडौँमा माओवादीका प्रतिनिधिसभातर्फ सबै उम्मेदवार महिला

काठमाडौँमा माओवादीका प्रतिनिधिसभातर्फ सबै उम्मेदवार महिला

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका काठमाडौँका तीन वटै निर्वाचन क्षेत्रमा महिलालाई उठाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीले काठमाडौँ-२, ७ र ९ मा महिला नेतृहरुलाई टिकट दिएको हो ।

माओवादीले पूर्वसभामुख ओनसरी घर्तीलाई काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । यसअघि सोही क्षेत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित हुनुभएको थियो । तर, गठबन्धनको सहमतिअनुसार यसपटक यो निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको हो ।

काठमाडौँ-७ मा माओवादीबाट मानुषी यमीले टिकट पाएकी छन् । उनी नेपाल समाजवादी अध्यक्ष डा.बाबुराम भट्टराईकी छोरीसमेत हुन् । अध्यक्ष डा.भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका कारण समाजवादी नेतृ यमीले माओवादीबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी हुन् ।

यसैगरी माओवादी केन्द्रले कल्पना धमलालाई काठमाडौँ-९ मा उम्मेदवार बनाएको छ । पूर्वमन्त्रीसमेत रहेकी उनी माओवादी नेता हितमान शाक्यले दावी छोडेपछि उम्मेदवार बनेकी हुन् ।

टिप्पणीहरू