टीकाको दिन मान्छे मारेर भागेका ठाकुर स्वयम्भुमा भेटिए
भारतीय नागरीकको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । पर्सा बहुदरमाई नगरपालिका-२ हांसवाका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुर हत्या आरोपमा हिजो स्वयम्भुबाट समातिएका हुन् ।
उनले गत १९ गते दशैंको टीकाको दिन भारतको कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ४७ वर्षीय दिलीप आदकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हेमन्त महर्जनको घरमा डेरा गरी बस्ने दिलीपको कोठामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थल पुगेका प्रहरीले कोठा फोडी हेर्दा दिलीपलाई मृत अवस्थामा फेला पारेका थिए ।
दिलीपको टाउकोमा ठूलो चोट लागेको, रगत लतपतिएको कपडाले छोपेर राखिएको अवस्थामा शव भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा ठाकुरले आदकको हत्या गरेको पुष्टि भएको हो ।
ठाकुरले दिलीपलाई काठ च्याप्न प्रयोग हुने तीन फुट दुई ईन्च लामो मेसिन (सकिन्जा)ले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या गरेर कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुलेको छ ।
प्रहरीले हत्या गर्दा प्रयोग भएका हतियार, मृतकको कोठामा फुटाउन खाेजी आधा भाग बाँकी रहेको अवस्थामा बाकस फेला पारेकाेमा उक्त बाकसमा चार लाख १९ हजार रुपैयाँ भेटिएको जनाएको छ । बरामद रकम र हातहतियारसहित ठाकुरलाई थप अनुसन्धानको निम्ति प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू