धानखेतमा कर्णाली पसेपछि किसान चिन्तित

धानखेतमा कर्णाली पसेपछि किसान चिन्तित

केही दिनदेखिको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले अछामलगायत विभिन्न जिल्लामा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ । अछाम पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानस्थित कुजेडामा बाढीले भित्र्याउन ठीक्क पारेका धानबाली कर्णालीले सखाप पारेको छ ।

बर्खामा दुःख गरेर लगाएका सयौैं बिगाका धानखेती घर भित्र्याउने बेला नदीले सबै बगाएपछि किसानहरु चिन्तित भएका छन् । मकै र बदाम खेती हुने जग्गामा समेत नदी बगिरहेको स्थानीयको भनाइ छ ।

२०४० सालयताकै कर्णाली नदीमा आएको ठूलो बाढीका कारण विक्षिप्त स्थानीयले राहतको माग गरेका छन् । उनीहरुले स्थानीय सरकार र सरोकारवालाले नदी किनारामा बाँध निर्माण गर्न ध्यान दिनुपर्ने बताए ।

‘हामी स्थानीय सरकार र सरोकारवाला सबै निकाय समक्ष बाढी पीडित किसानहरूलाई राहत र क्षतिपूर्तिको माग गर्दछौं,‘ पीडित किसानले भने, ‘फेरिफेरि बाढीले यो किसिमको वितण्डा मञ्चाउन नसकोस् भनेर बाँध निर्माणमा पनि सबैको ध्यान जाहोस् ।‘

कालिकास्थान-४ का वडाध्यक्ष हर्क बडुवालले कर्णालीले खेतियोग्य जमिनमा कटान गरेको बताए । उनले कुजेडा लगायत आसपासका बस्तीमा नदी पसेको जानकारी दिए ।

‘यसपटक कर्णालीले ठूलो क्षति गरेको छ । कुजेडामा पाकेका धानबाली बगाएको छ । बाढीका कारण सबै ठाउँ पुग्न सकेका छैनौँ,‘ उनले भने, ‘म यसप्रति चिन्तित छु ।‘

टिप्पणीहरू