भीम रावलको टिकट खोस्नेमाथि अकुत सम्पत्तिको उजुरी

भीम रावलको टिकट खोस्नेमाथि अकुत सम्पत्तिको उजुरी

पूर्वउपाध्यक्ष भीम रावलबाट खोसेर अध्यक्ष केपी शर्मा ओलीद्वारा टिकट थमाइएका एमाले नेता झपट बोहोरा उम्मेदवार हुन अयोग्य रहेको प्रमाण दावीसहित उजुर परेको छ । विवाद र तनावका बीच हिजो अछाम-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गराएका बोहोराविरुद्ध तीन वर्षअघि सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा परेको उजुरीको कपी भेटिएको हो ।

राजनीतिक पहुँच र प्रभावका आधारमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ साउन २१ गते विभागमा उजुरी परेको पाइएको हो । सुदूरपश्चिमका सचेत नागरिकको तर्फबाट साउन १२ गते हालिएको उजुरी विभागले २० गते दर्ता गरेको रेकर्डमा देखिएको छ ।

उजुरीमा २०५४ सालसम्म सामान्य आर्थिक हैसियतमा रहेका बोहोराले एकाएक अकुत सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत गैरकानुनी रहेको दावी गरिएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीसमेत रहेका उनले त्यतिबेला किर्ते सम्पत्ति विवरण पेश गरेको पनि उजुरीमा उल्लेख छ ।

बोहोराले श्रीमती, छोराछोरी,भाइ-भतिजा र नातागोताका नाममा विभिन्न बैंकहरुमा करोडौँ रकम थुपारेको, विभिन्न कम्पनीमा करोडौंको शेयर लगानी गरेको,धनगढीको मेन रोडमा करोडौँ रुपैयाँ पर्ने आलिशान घर बनाएको, टीकापुरमा आफ्नो र जेठानको नाममा घरजग्गा खरिद गरेको उजुरीकर्ताले दावी गरेका छन् । साथै,कैलालीको पर्यटकीय क्षेत्र बूढीतोलामा ५० औँ रोपनी जग्गा जमिनमा उनको लगानी रहेको, काठमाडौँको गौरीघाटमा करोडौँ पर्ने घर किनेको, महँगो र विलासी गाडी चढ्ने गरेको पनि विभागले दर्ता गरेको उजुरीमा उल्लेख छ ।

बोहोरामाथि अपारदर्शी आर्थिक गतिविधि गरेको दावी गरिएको उक्त उजुरीमा उनले आफ्नो शैक्षिक योग्यताको गलत विवरण पेश गरी २०६८/६९ सालतिर सुदूरपश्चिम विकास आयोगको अध्यक्षमा राजनीतिक नियुक्ति लिने प्रयास गरेको र पछि उक्त तथ्या खुलासा भएपछि तत्कालीन सरकारले निर्णय फिर्ता लिएको कुरा पनि उठाईएको छ । राजनीतिको आडमा कमाउ धन्दा चलाउन जुन पार्टी शक्तिमा आयो उसैको पछि लाग्ने गरेको उनको इतिहास रहेको उजुरीकर्ताले दावी गरेका छन् ।

‘निज शुरुमा कांग्रेस रहेको र पछि एकीकृत माओवादीमा प्रवेश गरी सुदूरपश्चिम प्रदेशका नेताहरुलाई ठूलो रकम बुझाई वर्षौँ संघर्ष गरेका नेताहरुलाई पछि पार्दै प्रदेशसभाको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यको टिकट लिई वाम गठबन्धनबाट ठूलो धनराशी खर्च गरी विजयीसमेत भई फेरि ठूलो धनराशी बुझाएर आर्थिक मामिला तथा योजना मन्त्री बन्न सफल भएको देखिन्छ । निज मन्त्री हुँदाका गतिविधि पनि कमिशन एवं भ्रष्टाचारजन्य देखिन्छ’, उजुरीमा भनिएको छ ।

गत निर्वाचनमा खर्चको विवरण नबुझाएको अभियोगमा बोहोरालाई निर्वाचन आयोगले ५ हजार जरिवानासमेत गरेको थियो । सम्पत्ति शुध्दिकरणमा उजुरी परेको भएपनि उनको उम्मेदवारीविरुद्ध कसैले पनि दावीविरोध नगरेकाले उम्मेदवारी कायम रहने अवस्था बनेको बताइन्छ ।

टिप्पणीहरू