लागूऔषध कारोबारमा संलग्न सात जना तीन ठाउँबाट समातिए
काठमाडौँसहित देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई समातेको छ । उनीहरु काठमाडौँ, मोरङ र कंचनपुरका विभिन्न स्थानबाट हिजो लागूऔषधसहित पक्राउ परेका हुन्।
काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरीका १८ वर्षीय किशोरसहित ४ जनालाई नाईट्राभेट ८ सय ५५ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारेको थियो ।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ३० वर्षीय सन्तोष लिम्बुको घरबाट ब्राउनसुगर ६ सय मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३२ हजार ४ सय रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कञ्चनपुर बेलौरी नगरपालिका-६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित एक जना समातिएका छन् । कैलालीका राजु चौधरीलाई बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
टिप्पणीहरू