सयौँको संख्यामा सहसचिव र उपसचिवमा भर्ना खुला

सयौँको संख्यामा सहसचिव र उपसचिवमा भर्ना खुला

लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा भर्ना खुलाएको छ । आयोगले आज एक सूचनामार्फत ११२ सहसचिव र ३२१ उपसचिव गरी ४३३ जना कर्मचारीका लागि भर्ना खुला गरेको जानकारी दिएको हो ।

जसअनुसार इन्जिनियरिङ सेवातर्फ सहसचिव २१ र उपसचिव ४९ जना कर्मचारी मागिएको छ । यस्तै, कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव, लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२ जना कर्मचारी आवश्यक रहेको आयोगले बताएको छ ।

वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि आयोगले भर्ना खुलाएको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवातर्फ उपसचिव ३, विविध सेवामा उपसचिव ६ र संघीय संसद सेवातर्फ उपसचिव ११ जना माग गरेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू