पर्यटकलाई अलपत्र नछाड्न पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहण र पदयात्रामा गएको अवस्थामा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।
उहाँले पर्यटन विभागसहित मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको हो ।
सम्पर्कमा आएका पर्यटकको उद्धार भए पनि अझै, हिमाल आरोहण र पदयात्रामा गएका पर्यटक अलपत्र रहेको सूचना प्राप्त भएकाले उनीहरुको तत्काल उद्धारको व्यवस्था मिलाउन मन्त्री श्रेष्ठले मातहतका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
पछिल्लो केही सातादेखि मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन् । विगत केही दिनदेखिको अविरल वर्षा र प्रतिकूल मौसमका कारण उनीहरुमध्ये धेरैजसो बीचबाटोमा अलपत्र परेका खबर बाहिरिएका हुन् ।
टिप्पणीहरू