फौजमा स्वास्थ्य मापदण्डमा कडाई, हाइटअनुसार वेट अनिवार्य

फौजमा स्वास्थ्य मापदण्डमा कडाई, हाइटअनुसार वेट अनिवार्य

सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुको स्वास्थ्य वर्गीकरणसम्बन्धी नयाँ कार्यविधि ल्याएको छ । हालै पारित सो कार्यविधि कार्यान्वयनमा ल्याउन सशस्त्रले पहिलो चरणमा जवानदेखि नायव उपरीक्षक दर्जाका कर्मचारीको शारीरिक सुगठन र स्वास्थ्य मापन गर्न लागेको हो ।

सशस्त्रले अस्ति सोमबार देशभरका इकाईहरुलाई पत्राचार गर्दै ‘सशस्त्र प्रहरी बल,नेपालमा बडी मास इन्डेक्स (बिएमआई) को आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९’ अनुसार बिएमआई मापन तथा २ माइल दौड गराउने हुँदा त्यसअनुसार तयारी गर्न निर्देशन दिइएको छ।

नयाँ कार्यविधिअनुसार कर्मचारीहरुको स्वास्थ्य वर्गीकरण गर्न सशस्त्रले हल्चोकस्थित मुख्यालय र सात वटै बाहिनी मुख्यालयमा बोर्ड गठन गरी केन्द्रबाट प्रतिनिधि खटाउने छ । निरीक्षक र नायव उपरीक्षकहरुको २ माइल दौड र बिएमआई मापन हल्चोकमा हुनेछ ।

बाहिनीअन्तर्गत ईलाकामा कार्यरत जुनियर अधिकृत तथा अन्य दर्जाका कर्मचारीको हकमा भने सम्बन्धित बाहिनी मुख्यालयहरुबाट अधिकृत खटाई केन्द्रीय प्रतिनिधि पुग्नुअगावै दौड र बिएमआई फारम भरी केन्द्रमा उपलब्ध गराउन भनिएको छ । साथै, प्रशिक्षण प्रतिष्ठानले कमाण्ड तथा स्टाफ कलेज, एपीएफ अस्पताल, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौँ, हातहतियार तथा यान्त्रिक कार्यशाला बलम्बु र नेपाल एपीएफ स्कुल कीर्तिपुर तथा ९ नम्बर पशुपति बाहिनी मुख्यालय काठमाडौँले आफ्नो मातहत कार्यालयहरुमा प्रतिनिधि खटाएर फारम संकलन गरी केन्द्रीय प्रतिनिधिलाई उपलब्ध गराउने छ ।

जसअनुसार कात्तिक १ र २ गते हल्चोकस्थित मुख्यालय,ककनी तालिम केन्द्रसहित उपत्यकास्थित सबै कार्यालयमा दौड र बिएमआई मापन हुनेछ । त्यहाँ वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना केन्द्रीय प्रतिनिधिका रुपमा खटिने छन् । असोज ३१ र कात्तिक ७ गते १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीमा उपरीक्षक टोपबहादुर डाँगीको रोहबरमा मापन गरिनेछ ।

त्यस्तै, कात्तिक १ र २ गते २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा बिएमआई मापन हुनेछ । त्यसका लागि प्रतिनिधिकारुपमा वरिष्ठ उपरीक्षक नरेन्द्र सेन खटिनेछन् । कात्तिक २ र ३ गते ३ नम्बर गढ़िमाई बाहिनी मुख्यालय मकवानपुर अनि ३ र ४ गते ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा दौड र बिएमआई गरिनेछ । त्यहाँ क्रमश: वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र किरण ढुंगाना प्रतिनिधिका रुपमा जानेछन् ।

सोही दिन वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको रोहबरमा ५ नम्बर बिन्दवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा स्वास्थ्य मापन हुनेछ भने कात्तिक ४ र ५ गते ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय,सुर्खेतमा गरिनेछ । सुर्खेतका लागि वरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठलाई खटाउने सशस्त्रको तयारी छ । त्यहि दिन ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा उपरीक्षक सुमन थपलियाको कमाण्डमा दुई माइल दौड र बिएमआई मापन हुने जनाइएको छ ।

नेपाली सेनाले यसअघि नै कार्यान्वयनमा ल्याएको कार्यविधि पछ्याउदै सशस्त्रले पनि आफ्ना कर्मचारीहरुको शारीरिक सुगठन र स्वास्थ्यमा कडाई गर्न लागेको हो । जनाइएअनुसार यो कार्यविधि लागू हुँदा सशस्त्र प्रहरीको हाइटअनुसार वेट मिल्नुपर्ने हुन्छ ।

टिप्पणीहरू