धादिङमा एमाले-राप्रपा तालमेल,उम्मेदवारद्वारा पार्टी परित्याग

धादिङमा एमाले-राप्रपा तालमेल,उम्मेदवारद्वारा पार्टी परित्याग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेलमा हस्ताक्षर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा राप्रपाले एमालेलाई र यसै क्षेत्रको प्रदेशसभा ‘ख’ मा एमालेले राप्रपालाई सघाउने भएको छ ।

तालमेलपछि प्रतिनिधिसभा क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार परशुराम तामाङले नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीलाई सघाउने भएका छन् । तामाङले बुधबार मनोनयन फिर्ता लिएका छन् । राप्रपाका तामाङले एमालेका लोहनीलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका हुन् ।

सहमतिअनुसार निर्वाचन क्षेत्र नं २ मा राप्रपाका परशुराम तामाङले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका खेम लोहनीलाइ सघाउने भएका छन् । यो क्षेत्रको प्रदेशसभा ‘क’ मा पनि राप्रपाका नारायणप्रसाद पोखरेल फिर्ता भएर डाक्टर रामकुमार अधिकारीलाई सघाउने भएका छन् ।

एमालेका घलेलाई व्याक गराइएको प्रदेशसभा ‘ख’मा राप्रपाबाट डम्बर तामाङ उम्मेदवार छन् । डम्बर राप्रपाका चर्चित नेता बुध्दिमान तामाङका भाइ हुन् । त्यसको बदलामा नेकपा एमालेले प्रदेशसभा ‘ख’ मा धनबहादुर घलेलाई फिर्ता बोलाएको हो । यही सहमतिमा धनबहादुर घलले आपत्ति जनाउदै पार्टी परित्याग गरेका छन् ।

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिड्दा कमजोर बन्नुपरेको एमाले- राप्रपा यो निर्वाचनमा भने तालमेल गरेर सत्ता गठबन्धनका उम्मेदवारलाई हराउने दाउमा छन् ।

उम्मेदवारी खोसिएपछि एमालेका घलेद्वारा पार्टी परित्याग

नेकपा एमालेका तर्फबाट धादिङको क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार धनबहादुर घलेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपासँग तालमेलपछि पार्टीले आफ्नो उम्मेदवारी फिर्ता गराएको भन्दै घलेले सामाजिक सन्जाल फेसबुकमार्फत पार्टीको पदबाट राजिनामा र पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

घलेले एमालेकै एउटा समूहले किर्ते हस्ताक्षर गरेर आफ्नो उम्मेदवारी फिर्ता गरेको आरोप लगाएका छन् । ‘यो एमालेको जिल्ला नेता खेम लोहनीको किर्ते हो । हाम्रा उम्मेदवारलाई एक वचन नसोधी उम्मेदवारी फिर्ता लिएर राप्रपाका उम्मेदवारलाई समर्थन गरेको देखियो’, घलेले भने– ‘खेम लोहनीले म काठमाडौंमा रहँदा मलाई नै नसोधी मेरो उम्मेदवारी रद्द गरी राप्रपाका उम्मेदवारलाई समर्थन गरेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेर घलेको ठाउँमा राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ । धादिङ २ को प्रतिनिधिसभातर्फका एमालेकै उम्मेदवार रहेका खेमप्रसाद लोहनीले राप्रपाका उम्मेदवार डम्बर घलेलाई समर्थन गर्ने सहमति गरेका छन् ।

घले पूर्व सांसद र एमाले धादिङका उपाध्यक्ष हुन् । ‘मसंग कसैले अनुमति मागेको छैन । पद र पावरको बलमा निर्वाचन अधिकृतसंग साँठगाठ गरेर मेरो उम्मेदवारी फिर्ता गराइयो’, घलेले भने– ‘म कानुन अध्ययन गर्दै छु, आगामी कदम कानुनअनुसार चाल्ने छु ।’

एमाले धादिङका अध्यक्ष भूमिप्रसाद त्रिपाठीले भने समग्र जिल्लाको परिस्थितिलाई हेरेर तालमेल गर्दा पार्टीका शीर्ष नेताहरुकै निर्णय लागु गरिएको बताए । उनले भने–‘सिंगो पार्टीभन्दा व्यक्ति ठूलो होइन, तालमेल गर्ने निर्णयपछि पार्टी नेतृत्वले बाध्य भएर उहाँको उम्मेदवारी फिर्ता गराएका हौं ।’

निर्वाचन कार्यालयले भने दलको पत्रको आधारमा एमालेबाट प्रदेशसभा उम्मेदवार बनेका घलेको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । तर, निर्वाचन आयोगले नै जारी गरेको नियमावलीमा भने दलको पत्रको आधारमा उम्मेदवारी रद्द गर्न पाउने व्यवस्था छैन । जारी भएको नियमावलीअनुसार कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयअवधिभित्र निर्वाचन अधिकृत समक्ष आफ्नो नाम फिर्ता लिन सक्ने उल्लेख छ । नाम फिर्ता लिएको सूचना उम्मेवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्ने समेत उल्लेख छ ।

टिप्पणीहरू