महिन्द्रलाई उम्मेदवार बनाइँदा लोसपा मर्माहत

महिन्द्रलाई उम्मेदवार बनाइँदा लोसपा मर्माहत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ । डा.बाबुराम भट्टराईको नवगठित पार्टी नेपाल समाजवादी पार्टीसम्बन्ध्द महिन्द्र राय यादवलाई सत्ता गठबन्धनले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा आधिकारिक उम्मेदवार बनाएपछि लोसपाले आपत्ति जनाएको हो ।

अध्यक्ष महन्थ ठाकुरले केही उम्मेदवारहरुको मनोनयनलाई प्रष्ट पार्ने उद्देश्यले सत्ता गठबन्धनका चार घटकले हिजो विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा गठबन्धनका चार घटकद्वारा केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले जारी विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

यादवलाई उम्मेदवार बनाउने निर्णय नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग गत असोज २६ गते भएको सहमतिविपरीत रहेको पनि उनको ठहर छ ।

लोसपाले सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने,सर्लाही २ (क) मा काँग्रेसको उम्मेदवारलाई सघाउने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवारलाई सघाउने सहमति भएको प्रष्ट पारेको छ ।

हिजो काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेर यादवलाई साझा उम्मेदवार बनाएको घोषणा गर्नुभएको थियो ।

सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार छन् । यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा उठेका छन् ।

टिप्पणीहरू