अर्का ‘१० भाइ’ यता पनि रेटिए
चुनावी तालमेल गरिएका दलसँग पनि उनीहरूले कसलाई अगाडि सार्छन् भन्ने आधारमा त्यो सीट छाड्ने कि नछाड्ने भन्ने नीति अबलम्बन गरिँदा काठमाडौंमा एमालेले जसपालाई शून्य उम्मेदवारीतिर झारेको छ ।
संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले काठमाडौं ७ बाट टिकट नपाउनुका पछाडि उपेन्द्र यादवको बेवास्ता हो भनेर पार्टीभित्र चर्चा भइरहेको छ । तर, मुख्य कारकचाहिँ केपी ओली नै भएको खुलासा उपेन्द्रले आफ्नो पार्टीका नेताबीच गरेका छन् । ‘अरु भए हुन्छ, राजेन्द्र भए हुँदैन’ भनी ओली टसका मस नभएपछि त्यो सम्भावना समाप्त भएको उपेन्द्रले निकट नेतालाई सुनाएका हुन् । राजेन्द्रलाई काठमाडौंमा टिकट दिनुको सट्टा बरु बारा १ मा कसैलाई दिनुपर्छ भने दिन्छु भन्ने ओलीको भनाइ थियो ।
तर, बारा १ मा पनि दिएनन् । त्यहाँबाट आफ्नै पार्टीका १० बुँदे पक्षधर पुरुषोत्तम पौडेललाई दिन्छु–दिन्छु भन्दै अन्तिममा अच्युत मैनालीलाई टिकट दिइयो । बारा २ जसपाले पायो । यता, काठमाडौं ७ मा एमालेबाट श्याम घिमिरेलाई उम्मेदवार बनाइयो । त्यहाँबाट रामवीर मानन्धरलाई उम्मेदवार नदिने, बरु एकीकृत समाजवादीका नेता बसन्त मानन्धरलाई फकाईफुल्याई गरेर उठाउने प्रयास भयो । तर, बसन्तले आफूलाई एमालेको टिकट नचाहिने बताए ।
उनले ओलीसँगै फोनमा भने, ‘तपाईंलाई मेरो यत्रो माया लाग्छ भने मेरी श्रीमती इन्दिरा पन्त तपाईंकै पार्टीमा छन्, उनलाई दिनुस् न !’ तर, इन्दिरालाई पनि उम्मेदवार बनाउने नाममा उचाल्नु उचालेर अन्तिममा थेचारियो । काठमाडौंको क्षेत्र नं. १० मा ०७० सालमा एमाले भएका हिमेश केसीलाई टिकट दिइएको छ । त्यहाँबाट कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन र डा.सुरेन्द्र मानन्धरमध्येलाई टिकट दिएको भए एमालेले गठबन्धनलाई पनि आच्छु–आच्छु पार्ने अवस्था थियो । तर, हिमेशको उम्मेदवारीपछि पुराना एमालेहरू सल्याकसुलुक्क भएका छन् ।
टिप्पणीहरू