भारतीय र नेपाली फरार प्रतिवादी दुबै समातिए
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दुई जना समातिएका छन् । कास्कीका नारायण भण्डारी र भारतीय नागरिक शशी शर्मालाई बैकिङ कसूर मुद्दामा प्रहरीले आज पक्राउ गरेको बताइएको छ ।
काठमाडौँको भोटेबहाल बस्ने भारतीय नागरिक शर्मालाई उच्च अदालत पाटनले गत भदौ ७ गते सो मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसलगत्तै भागेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरीबाट आज बिहान नियन्त्रणमा लिएको हो ।
पक्राउपछि शर्मालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
उस्तै प्रकृतिको मुद्दाका अर्का फरार प्रतिवादी ५८ वर्षीय भण्डारीविरुद्ध उच्च अदालत पाटनले गत असार २१ गते दुई लाख जरिवाना, एक दिन कैद र आठ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला सुनाएको थियो । फैसलालगत्तै फरार रहेका उनलाई पनि प्रहरीको अपराध अनुसन्धान टोलीले आज बालाजुबाट नियन्त्रणमा लिएको हो ।
उनलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत लगनखेल पठाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू