महन्त,जालान् त यसपटक सँसदमा जन्त ?
छोरीलाई समानु्पातिक उम्मेदवार बनाएर ८० वर्षीय महन्थ ठाकुर आफू महोत्तरी-३ बाट प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । तर, परिणाम आफ्नो पक्षमा पार्न उनका लागि यसपटक त्यति सहज देखिंदैन । ०७४ को चुनाव उनका लागि आरामदायी थियो । यसपटक कठिन देख्दादेख्दै पनि प्रतिस्पर्धामा उतारेका छन् ।
समानुपातिकमा छोरीलाई सुरक्षित गर्न खोजेपछि प्रत्यक्ष रोज्नु उनको बाध्यता भएको लोसपाका एकथरीको भनाइ छ । कतिपयले भने लोसपाले थ्रेसहोल्ड पनि कटाउन नसक्ने अनुमान गरेरै उनी प्रत्यक्षमा होमिएको अनुमान लगाएका छन् ।
अघिल्लो चुनावमा साथ दिएका नेता-कार्यकर्ता एकपछि अर्को गर्दै क्रमश: पलायन भएपछि आगामी मंसिर ४ को चुनाव बयोबृद्ध नेता ठाकुरलाई चुनौतीको पहाड बनेर उभिएको हो । उनका सबैभन्दा नजिकका नेता वृशेषचन्द्रलाल कर्ण चुनौती दिन महोत्तरी-३ बाटै उठेका छन् । मधेश आन्दोलनको मर्म र भावनालाई अलगथलग पारेर महान्थले ’स्वार्थको राजनीति’ गरेको कर्णहरुको आरोप छ ।
जसपाका नेता हरिनारायण यादवको चुनौती पन्छाउनु उनका लागि अर्को सकस छ । झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा कृषि मन्त्री रहेका यादवसँगै एमालेका पूर्वसांसद रामदयाल मण्डल र मधेश प्रदेशमा महान्यायाधिशवक्ता दिपेन्द्र झा प्रदेशसभाका लागि प्रतिस्पर्धा गर्दै छन् भने ठाकुरसँग प्रदेशसभा सदस्यहरु अभिराम शर्मा र रानी तिवारी भिड्दै छन् ।
ठाकुरप्रति विभिन्न खोट देखाउँदै प्रतिस्पर्धीहरुले घरदैलो गर्न शुरु गरेका छन् । मधेश आन्दोलनको रापतापमा पनि सर्लाहीमा पराजित हुँदै आएका उनी महोत्तरी सरेका थिए । त्यसको फाइदा उठाउँदै भारी मतले विजयी भए । त्यतिबेला ठाकुरका प्रतिस्पर्धीहरु सो क्षेत्रमा निरिह देखिएका थिए । तर, आगामी निर्वाचनमा भने जसपा र एमालेले प्रभावशाली उम्मेदवार खडा गरेका कारण उनी सकसमा परेको जिल्ला सदरमुकाम जलेश्वरका स्थानीय बताउँछन् ।
उनलाई सवाल गर्नेहरुले विभिन्न प्रश्नावली बनाएका छन् । आलोचना गर्नेहरुले केही नैतिक प्रश्न पनि उठाएका छन् । संकिर्ण जातिवादी सोच र संस्कार बोकेको आरोप उनीमाथि लाग्दै आएको छ । व्यक्तिवादी र स्वार्थी भन्नेहरु पनि उत्तिकै छन् ।
बहुदलीय व्यवस्थाको आगमनसँगै २०४८ सालको चुनावपछि संसदमा उपसभामुख बनेका ठाकुर विभिन्न प्रधानमन्त्रीहरुको क्याबिनेटमा प्रभावकारी मन्त्रालय लिएर पटक-पटक सत्तामा पुगिसकेका पात्र हुन् । सूर्यबहादुर थापाको क्याबिनेटमा सूचना तथा सञ्चार मन्त्रालय, कृष्णप्रसाद भट्टराईको पालामा भौतिक तथा निर्माणमन्त्री, गिरिजाप्रसाद कोइराला नेतृत्वको क्याबिनेटमा वन,कृषि अनि विज्ञान प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए । तर, मधेस र मधेसीको नाममा राजनीति गरेका ठाकुरले सिन्को नभाँचेको उनका मतदाताहरुले जनआस्थालाई सुनाए ।
पहिलो संविधानसभामा सर्लाहीबाट चुनाव हारेका यिनै ठाकुर मनोनित कोटाबाट संविधानसभामा छिरेका थिए । दोस्रो संविधानसभाको चुनाव हार्दा पनि उनले सम्धिनी बन्न लागेकी इन्दिरा झालाई सभासद बनाए । साक्षर मात्र इन्दिराले संविधानसभामा एक शब्द पनि बोलिनन् । त्यति मात्र होइन, उनका श्रीमान पूर्वसचिव उमाकान्त झालाई खिलराज रेग्मीको क्याबिनेटमा तीन वटा मन्त्रालय पाउने गरी मन्त्री बनाएको चर्चा अहिले पनि हुने गर्छ । अहिले तिनै उमाकान्तलाई लोसपाको कोषाध्यक्ष बनाउनुमा ठाकुरकै हात रहेको सो पार्टीका शीर्ष नेताहरु नै बताउँछन् ।
टिप्पणीहरू