कारभित्र ठूलो परिमाणमा लागुऔषध, तीन भारतीय र नेपाली महिला पक्राउ
प्रहरीले चितवनमा आज ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई पक्रेको छ । उनीहरुलाई लागुऔषधसहित भरतपुर बसपार्क नजिकैको चोकबाट नियन्त्रणमा लिइएको हो ।
एक महिला र तीन पुरुषको साथबाट डाइजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल, खैरो हेरोइन ५२ ग्राम १४० मिलिग्राम फेला परेको बताइन्छ ।
प्रहरीले भारत बिहारको पूर्वी चम्पारण जिल्लाका ३८ वर्षे सुनिल कुमार, सोही स्थान घर भइ रक्सौल बस्ने १९ वर्षे विकास कुमार, सोही स्थानका ५० वर्षे राजन ठाकुर र बाराको गढीमाई नगरपालिका १९ की ३५ वर्षीया प्रतिमा मण्डललाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट भारतीय नम्बर प्लेटको कार र चार थान मोबाइलसमेत बरामद गरिएको छ । उनीहरु आज बिहान वीरगञ्जबाट नारायणगढतर्फ आइरहेको कारमा लागुऔषध र लागुपदार्थ भएको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको हो ।
ती पदार्थ कारको सिट अगाडि गोडा राख्ने ठाउँ मुनि फल्स बटम बनाई लुकाएर ल्याएका थिए । त्यसभित्र पनि कागजमा पोको पारिएका आठ वटा पोकामध्ये लागुऔषध कालो प्लाष्टिकमा र ब्राउनसुगर सेतो प्लाष्टिकमा प्याक गरिएको अवस्थामा फेला परेको हो । त्यसैगरी कारको डिक्कीको भागमा पछाडिको ढोका अगाडिको तलको भागमा पनि फल्स बटम बनाई लुकाइएको थियो ।
टिप्पणीहरू