‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’
पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिवार काठमाण्डौमा विशेष प्रस्तुती दिएकी छिन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुती दिएकी हुन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राख्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय तहदेखि नै अध्यापन गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले भनिन्, ‘शारीरिक समस्यालाई जस्तै व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ । राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाइन, सचेतना फैलाइन र समयमै समस्याको निदान हुनुपर्छ ।’
मानसिक समस्यालाई सामान्य रुपमा लिँदा पछिल्लो समय यसले विकराल रुप लिएको उनको भनाइ छ । यसअघि उनले काठमाण्डौमा सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरुसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा अन्तरक्रिया गरेको अस्पतालले जनाएको छ ।
कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रुपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा अस्पतालका संस्थापक बसन्त चौधरी, प्रवन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायतको पनि सहभागिता थियो ।
टिप्पणीहरू