१२ वर्षमा खोला फर्कियो,प्रेमिकाको श्रीमान मार्ने प्रेम पक्राउ

१२ वर्षमा खोला फर्कियो,प्रेमिकाको श्रीमान मार्ने प्रेम पक्राउ

कर्तव्य ज्यान मुद्दामा जन्मकैद फैसला सुनाइएका एक जना फरार प्रतिवादी १२ वर्षपछि समातिएका छन् । मान्छे मारेर भागेका दाङको घोराही उपमहानगरपालिका–१९ का प्रेमबहादुर राणा अन्तत: पक्राउ परेका हुन् ।

२०६७ माघ २४ गते सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरी फरार भएका उनलाई जिल्ला अदालत दाङले फागुनमा कर्तव्य ज्यान मुद्दामा २० वर्षको जन्मकैदको फैसला सुनाएको थियो । फैसलालगत्तै फरार रहेका प्रेम अस्ति भक्तपुरबाट समातिएका हुन् ।

मृतक सूर्य दुई वर्षे कतार बसाइपश्चात् ०६७ माघ १९ गते घर फर्केका थिए । उनी विदेश रहेका बेला प्रेम र उनकी श्रीमती बिन्दु राणाबीच अनैतिक सम्बन्ध रहेको र हत्याको कारण त्यही भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

आफूहरुको प्रेम सम्बन्ध सूर्यले थाहा पाउने भएपछि प्रेम र बिन्दुले माघ २४ गते जाँडमा धतुरो मिसाएर खुवाई बेहोस बनाएर घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा प्रेमले प्रहरीलाई बयान दिएका छन् । हत्यापश्चात दुवै मिलेर शव जंगलको खोल्सामा लगी फालेको अनुसन्धानबाट खुलेको छ । शव ०६७ फागुन ५ गते सडेगलेको अवस्थामा फेला परेको थियो ।

रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा अदालतको आदेशअनुसार तोकिएको कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय,जगन्नाथदेवल पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू