आफ्नालाई उकास्नमा त्यता पनि अचाक्ली

आफ्नालाई उकास्नमा त्यता पनि अचाक्ली

मंसिर ४ गतेको संसदीय चुनावमा परिवार तथा नातेदारको लागि बाजी मार्नमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु पनि कम छैनन् । उदाहरण हुन्-राप्रपाका प्रथम उपाध्यक्ष बुध्दिमान तामाङ । उनले संसदमा आफ्नो उपस्थिति सुरक्षित पार्न पार्टीको तर्फबाट समानुपातिक आदिवासी जनजातिको कोटामा आफूलाई एक नम्बरमा राखेका छन् ।

उनी पुरुषतर्फका हुन् भने महिलातर्फ भाञ्जी विना लामालाई पहिलो नम्बरको समानुपातिक उम्मेदवार बनाएका छन् । भाइ डम्बरलाई धादिङ जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट जिताउन एमालेसँग आन्तरिक तालमेल गरेका छन् ।

त्यसकै लागि संघीय संसदमा उम्मेदवारी दिएका राप्रपाका पशुराम तामाङलाई उम्मेदवारी फिर्ता गर्न लगाएर एमाले उम्मेदवार खेम लोहनीलाई भोट हाल्ने,त्यसको बदलामा एमालेका बागमती प्रदेशका लागि उम्मेदवार धनबहादुर घलेको ठाउँमा भाइलाई समर्थन जुटाउने चाँजोपाँजो मिलाएका हुन् ।

यसैगरी राजनीतिमा आफ्नो बर्जस्व बढाउँदै जाने क्रममा उनले अर्को भाइ चतुरमानलाई राप्रपाको गाउँपालिका कमिटी अध्यक्ष बनाएका छन् । त्यसमा पनि चित्त नबुझेपछि छोरी दिपालाई जिल्ला उपाध्यक्ष बनाएका छन् । उपाध्यक्ष दिपा बिध्युत प्राधिकरणका एमडी कुलमान घिसिङ्की जीवनसंगिनी हुन् । यी सबै एउटै रुबी भ्याली गाउँपालिकाका वासिन्दा हुन् । यसरी हेर्दा समानुपातिक प्रतिनिधित्व भूगोलको हिसाबले पनि मिलेको छैन ।

उता आफू तथा आफ्ना नातेदारलाई प्रथामिकता दिने क्रममा राप्रपाका अर्का उपाध्यक्ष दीपक बोहोरा पनि पछाडि छैनन् । रुपन्देही जिल्लामा उनी संघीय सरकारका गृहमन्त्री बालकृण खाँणसँग भिड्दै छन् । उनले आफू शक्तिमा रहेको बेला मन्त्री खाँणको तुलनामा उल्लेख्य रुपमा विकास गरेको दावी गर्दै आएका छन् । तर,घाँटीको समस्याले बोल्न नसक्ने बोहोरालाई आगामी निर्वाचनमा कत्तिको सहानुभूति जुट्ला त्यो भने हेर्न बाँकी छ । जसरी मन्त्री खाँणले आफ्नी श्रीमती काँग्रेस केन्द्रीय सदस्य मञ्जु खाँणलाई समानुपातिक उम्मेदवार बनाएका छन् त्यसैगरी दीपक बोहोराले नातेदार स्वेता थापालाई लुम्बिनी प्रदेशका लागि समानुपातिक उम्मेदवारमा सूचिकृत गरेका छन् ।

यसरी कोहीभन्दा कोही कम नहुने केही उदाहरणमा राप्रपालाई आर्थिक रुपले सहयोग गरिराख्ने पार्टी नेता दिलविकास राजभण्डारी बागमती प्रदेशबाट समानुपातिकतर्फको पहिलो नम्बरमा छन् ।

दोस्रो संविधानसभाताका राप्रपाका तत्कालिन अध्यक्ष कमल थापाले भाइ गणेशलाई चौतर्फी विरोधका बाबजुद पनि संविधान सभा सदस्य बनाएका थिए । भाइ एन्फाको अध्यक्ष हुँदा लाखौं डलर हिनामिना गरेको आरोपमा छानबिनपश्चात उनलाई कारबाही गर्नुपर्छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाइएको थियो । भने एन्फाको अन्तर्राष्ट्रिय निकायले निलम्बन गरेको थियो ।

टिप्पणीहरू